चर्चीत गायक एड्रियन प्रधान नयाँ वर्षको अवसरमा पश्चिम नेपालमा आउने भएका छन् । सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा नेपालगन्जमा आयोजना गरेको न्यु इयर इभमा विशेष प्रस्तुतीका लागि गायक प्रधान आउने भएका हुन् ।
‘गुरासै फूल्यो बनैमा’ ‘सम्वोधन तिमीलाई गर्दैछु म’ ‘हिड्दा हिड्दै दोबाटोमा तिमी कता हराइदियौँ’ ‘नभन मेरो माया लाग्छ भनी’ ‘नसम्झ’ ‘जीन्दगी त खेलाउना भो’ लगायतका दर्जनौ हिट गीत गायका गायकको सम्भवत नेपालगन्जमा यो दोश्रो पटक आउन लागेका हुन् ।
भारतको कालिम्पोङमा जन्मिएका उनी नेपाली गायक, रचनाकार एवम् संगीतकार हुन् । उनले नेपालको चर्चित ब्यान्ड १९७४ एडीमा रहेर पनि थुप्रै गीत गायक थिए । कार्यक्रममा गायक प्रधानको नेतृत्वमा ७ जना कलाकारको विशेष प्रस्तुति रहने छ । यसका साथै यस क्षेत्रका ‘डिजे वि–क्यास’ र ‘गीतसंगकुन्त’ व्याण्डको प्रस्तुती पनि रहने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिका पश्चिम क्षेत्रका म्यानेजर केशव न्यौपानेले बताए ।
कोरोनाले विगत २ वर्ष यता यस्ता कार्यक्रम ठप्पजस्तै भएका थिए । यो २ वर्षपछि नयाँ वर्षको अवसरमा आगामी चैत्र ३० गते मनोरन्जनात्मक कार्यक्रम गर्न लागिएको होटेल सिद्धार्थका व्यवस्थापक काशिराम अधिकारीले बताए । उनका अनुसार सिमामा रहेको क्षेत्र भएकाले छिमेकी देश भारतबाट समेत कार्यक्रममा सहभागीता हुने जनाइएको छ ।
सन् २०१२ देखी होटेलले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रमलाई व्यवस्थीत गर्नका लागि परीवार लक्षित टिकटको व्यवस्था गरीएको जनाइएको छ । युवाहरुका लागि २ हजार १ सय ९९ रुपैया र १२ वर्ष मूनीका बालबालिकाहरुका लागि १ हजार १ सय ९९ रुपैँया टिकटदर तोकिएको छ । यस शुल्कमा जुस, ड्रिङ्स, स्न्याक्स लगायत खानाको समेत व्यवस्था रहेको जनाइएको छ । करीब ५ सयको सहभागीता हुने लक्ष्य राखीएको कार्यक्रममा १२ लाख लागत लाग्ने अपेक्षा गरीएको छ । टिकट वुकिङका लागि आगामी चैत्र २८ गतेसम्मको समय तोकिएको कार्यक्रमको संयोजन गरीरहेका नविन भट्टले बताए ।