राप्ती सोनारी गाउँपालिकाले छात्रालाई उच्च शिक्षा हासिल बढाउन निशुल्क साइकल वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ८ स्थित शिवशक्ति माध्यामिक बिद्यालयको कक्षा ११ र १२ मा पढ्ने छात्रालाई साईकल वितरण गरिएका छन ।
राप्ती सोनारी गाउँपालिकाले छैटौं चरणमा बिद्यालयका १ सय १५ जना छात्रालाई साईकल हस्तान्तरण गरेको हो । बिद्यालयका कुल १ सय ७० जना छात्रालाई वितरण गर्ने योजना रहेकोमा मंगलबार १ सय १५ जनालाई वितरण गरीएको हो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री, वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेत, वडा नं. ४ का वडाध्यक्ष कान्छा थारु, वडा सदस्य नैना खत्री, तारा वि.क., वीरमान खड्का, लेखराम थारु, एमालेका प्रतिनिधी शालिकराम डाँगी लगायतले छात्रालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष थारुले ‘छात्राले साईकल पाएपछि शैक्षिक गुणस्तर वृद्धिमा अवश्य पनि टेवा पुग्ने,’ बताउदै छात्रालाई उच्च शिक्षा प्रोत्साहन गर्न साइकल वितरण गरेको बताए । उनले यसवर्ष गाउँपालिकाले छात्रालाई साईकल प्रदान गर्ने कार्यको सुरुवात मात्र गरेको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि धेरै काम गरेको अध्यक्ष थारुले बताए । गाउँपालिकाले यसवर्ष १ हजार २ सय १७ जना छात्रालाई साईकल वितरण गर्ने टुंगो लागिसकेको अध्यक्ष थारुले बताए ।
गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले साईकल पाएपछि छात्रालाई शैक्षिक कुरा हासिल गर्न धेरै सहज हुने विश्वास गरिन् । टाढाबाट बिद्यालयमा पढ्न आउने छात्राले साईकल पाउँदा धेरै राहत महसुस गरेको विद्यालयका प्रधानाध्यापक पुस्कर खड्काले बताए । ‘टाढाबाट बिद्यालयमा पढ्न आउने छात्रालाई ठुलो राहत मिलेको छ, गाउँपालिकाले गरेको यो कार्य निकै प्रशंसनीय छ,’ उनले भने । गाउँपालिकाले करिब ९० लाख बढी लगानीमा सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत १ हजार २ सय १७ जना छात्रालाई साइकल वितरण गरिने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।