खजुरामा जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविर सुरु

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको शुरुवात गरेको छ । शिविरको उद्घाटन खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन । आज देखि शुरु गरिने निःशुल्क स्वास्थ्य शिविर २८ गतेसम्म सञ्चालन हुनेछ । शिविरको उद्घाटन गर्दै अध्यक्ष कक्षपतिले स्वास्थ्य सेवा बाट कोही नागरिक वञ्चित हुन नपरोस भनेर पालिकाले बिशेष लगानी स्वास्थमा गरेको बताए ।

अध्यक्ष कक्षपतिले जेष्ठ नागरिकहरुलाई हरेक वर्ष वडामा पुगेरै शिविर सञ्चालन गर्ने गरिएको र यसले गर्दा जेष्ठ नागरिकलाई राहत पुगेको महसुस गरिएको उल्लेख गरे । जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन सुरु गरेको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

२१ गते आज वडा नम्बर २ सितापुर स्वास्थ्य चौकीमा सुरुवात गरिएको शिविर २२ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ६ पुरैनामा, २३ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ ई गाउँमा, २४ गते खजुरा प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ३ मा, २५ गते रनियापुर स्वास्थ्य चौकी वडा नम्बर ८ मा, २६ गते वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्य चौकीमा, २७ गते उढरापुर स्वास्थ्य चौकीमा र २८ गते सोनपुर स्वास्थ्य चौकीमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । आज बरिष्ठ डा प्रकाश नाग सहितको टोलीले चेक जाच गरिएको प्रमुख पौडेलले जनाएका छन् । पहिलो दिनको शिविरमा १६८ जना जेष्ठ नागरिकहरुले सेवा लिएको जनाइएको छ ।

जसमा पुरुष ९९ र महिला ६९ जना जना रहेको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुशील थापाले जानकारी दिए । शिविरमा आउने प्रायलाई प्रेसर र सुगरको समस्या देखिएको थियो ।

प्रतिक्रिया