पार्टी विभाजनपछि एकीकृत समाजवादीमा प्रवेश गरेका दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापा एमालेमै फर्किएका छन्।
एमाले छाडेका उनी नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्यको भूमिकामा थिए। माधव नेपाल नेतृत्वको उक्त पार्टीले उनलाई भगवतीमाई गाउँपालिका इन्चार्ज पनि बनाएको थियो।
एमालेमा फर्किएका उनलाई उक्त पार्टीका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहसहितले अविर र माला लगाएर स्वागत गरे ।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख एवम् दैलेख निवासी केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार थापासँगै अन्य जनप्रतिनिधिसहित एक सयजनाभन्दा बढी समाजवादी छाडेर फर्किएका छन्।
एमालेमा फर्किएपछि थापाले आफू मूलघरमै आएको बताउँदै अब अझै दत्तचित्त भएर जनताको सेवामा लाग्ने बताए। उनले एमाले छाडेर जानुपर्ने बाध्य हुनु परे पनि फेरि मूलबाटोमै आएको पनि उल्लेख गरेका छन्।