
काठमाडौँ : राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अ’त्यावश्यक पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेको छ । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरे । जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।
सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘हामीले गर्दा घाटा लागेको होइन। सरकारले हाम्रो कमिसन मूल्य बढेअनुसार बढाउनु पर्छ,’ उनले भने।
सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।
निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ। सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउन पर्ने उनले बताए। पेट्रोलियम पदार्थको मूल्य घट्दा घटाउने, बढ्दा बढाउने हो भने निगम घाटामा नजाने उनको तर्क छ।
अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्छ । व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । ‘जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेका थियौं ।
पटक/पटक व्यवसायीले एकतर्फी आन्दोलन गरिरहेका छन्’ निगमका प्रबक्ता बिनितमणि उपाध्यायले भने, ‘शुक्रबार नै बिक्री प्रभावित बनेको छ । दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् । केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेको गरेका छन् ।