
काठमाडौं : नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका रिक्त दुई सदस्य पदपूर्ति गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो । मन्त्रालयले मनोनयन सिफारिस समिति गठन गरेको हो । गठित समितिमा बासु ढुङ्गाना र विभूतिचन्द ठाकुर सदस्य बनेका छन । हाल सम्म समितिको दुइटा बैठक बसिसकेको छ जानकारी प्राप्त भएको छ । रिक्त दुई सदस्यको छिट्टै नाम सिफारिस गर्ने संयोजक घिमिरेले बताइन ।
पदपूर्ति हुने सदस्यहरुबाट नीतिगत सुधार, पर्यटन प्रर्वद्धनमा जोड दिन अपेक्षा गरिएको संयोजक घिमिरेले बताए । पर्यटन सचिवको संयोजकत्वमा ११ सदस्यीय समिति रहने व्यवस्था छ ।समितिमा निजी क्षेत्रका पाँच जना पर्यटन व्यवसायी बोर्ड सदस्य हुने व्यवस्था छ । समितिको कार्यकाल तीन वर्षको हुन्छ । मदन आचार्य र मिलन देवकोटाको कार्यकाल सकिएकाले दुई सदस्य छनौट गर्न लागिएको हो । समितिको सिफारिसका आधारमा मन्त्रीपरिषद्ले उनीहरूलाई नियुक्त गर्नेछ ।
प्रायः जुन दलको पर्यटनमन्त्री छ, त्यसकै कार्यकर्ता सदस्य नियुक्त हुने गरेको इतिहास देखिन्छ । यसअघि माओवादीका पर्यटनमन्त्री हितबहादुर तामाङका पालामा रामप्रसाद सापकोटा, राजेन्द्र लामा र ऋषिराम भण्डारी नियुक्त भएका थिए ।
अहिले नेपाली कांग्रेसका नेता बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री छन । त्यसैले काँग्रेसका पर्यटनकर्मीहरू बोर्ड सदस्यको आकांक्षी देखिएका छन । सत्ता साझेदार पार्टि एमाले रहेकाले पनि अर्को सदस्य एमालेकै हुनेमा अधिक व्यक्तिले अनुमान गरेका छन । जसमा पनि हालसम्म कर्णाली प्रदेशबाट कुनैपनि बोर्ड सदस्य नरहेकोले पनि यसपटक कर्णाली प्रदेशतिरका पर्यटन व्यवसायि बोर्डको सदस्यमा नियुक्त हुने प्रवल सम्भावना देखिने एक व्यवसायिले बताए । निजी क्षेत्र ,बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरुमा हुने सकारात्मक चिन्तन र कार्यलेमात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने अधिकाशंको धारणा छ ।