
खगेन्द्र दाहाल, मुगु : २३ वर्षीय अर्जुन रावल साढे ४ वर्षदेखि राराको परिपरी घोडा चलाउँदै आएका छन् । मुगु छायाँनाथ नगरपालिका- ९ मुर्मा बस्ने रावललाई आफू कमाइकै लागि विदेश नगएको प्रति पछुतो छैन । यो सिजनमा उनको दैनिक २५ सय देखि ३ हजार सम्म कमाइ हुने गरेको छ ।
छायाँनाथ नगरपालिका – ९ मुर्माका जीवनन्द रोकाया (२४) पनि घोडा चलाउँदै आफ्नो जिविको पार्जन गर्दै आएका छन् । १२ कक्षा पास भयर दैलेखमा कृषि जेटिए अध्ययन गरिरहेका छन् उनी । सिजनमा घोडा चलाउने गरेका रोकाया लोक सेवा तयारी समेत गरिरहेको बताउँछन् । घरको काम पनि हुने र आम्दानी पनि हुने भएकाले सिजनमा यो काम गर्दै आएको उनको भनाइ छ । आन्तरिक पर्यटकको आगमन राम्रो हुँदै गएकोले पनि रारामा उनले राम्रो सम्भावना देखेका छन् ।
छायाँनाथ- ७ घुइराकी संगीता रावलसँग २ घोडा छन् । श्रीमान् श्रीमती भएर घोडा चलाउँदै आएका छन् उनीहरू । संगीता र उनका श्रीमान् भीमप्रसाद रावलले रारामा गरेको घोडा चलाउने कामले घर खर्च मात्रै चलेको छैन आर्थिक अवस्था पनि सुध्रँदै गएको छ ।
सल्लेरीदेखि रारा, रारादेखि मुर्म टफ आउने जाने, रारादेखि ताल्चा विमानस्थल, रारादेखि मसाने खत्याड, रारादेखि भाजघट्ट सम्म २५० घोडा यो समयमा व्यस्त बनेका छन् । राराको लागि यो समय सिजन नै हो । जेठको १५/२० गते सम्म आन्तरिक तथा बाह्य पर्यटक राराको सुन्दरता हेर्न आउने ताल्चा विमानस्थल नजिक होटल व्यवसाय गर्दै आएका स्थानीय रवि रावलले बताए ।
राराको परिपरी होटल र होमस्टे करिब ३५ जति छन् । पर्यटकलाई आउन जान सहज भएपछि आन्तरिक पर्यटकहरूको वृद्धि भएको भिजिट कर्णाली ट्राभल प्रालिका प्रबन्ध निर्देशक राजु कार्कीले जनाए । रारामा वैशाखको सुरुवातदेखि नै हवाई मार्गहुँदै घोड सवारी गरी रारा अवलोकन गर्ने बढिरहेका छन् ।
होलिडेटीप नेपाल ट्राभल एण्ड टुरको व्यवस्थापनमा राराको सर्भिस पार्टनर भिजिट कर्णाली ट्राभल प्रालि अहिले रारा घुम्न आउने पाहुनाको लागि प्याकेजमै व्यवस्थापनको काम गरिरहेको छ । यसले पर्यटन बोर्डले लिएको लक्ष्य उपलब्धिका लागि सघाउ पुगिरहेको भिजिट कर्णाली ट्राभल प्रालिका प्रबन्ध निर्देशक कार्कीले जनाए ।


