उत्कृष्ट शिक्षिकालाई स्कुटी उपहार

खजुरा : बाँकेको खजुराको एक विद्यालयले आफ्ना एक उत्कृष्ट शिक्षिकालाई स्कुटी उपहार प्रदान गरेको छ । खजुरा गाउँपालिका ३ स्थित रहेको स्टार मन्टेस्वरी एकेडेमी एण्ड सनलाइट इङ्लिश मिडियम स्कुलले शिक्षिका कविता क्षेत्रीलाई उत्कृष्ट कार्य गरेबापत प्रोत्साहन स्वरूप स्कुटी प्रदान गरेको हो । स्कुलले बुधबार एक समारोहको आयोजना गर्दै शिक्षिका क्षेत्रीलाई सम्मानसहित स्कुटी प्रदान गरिएको स्कुलका संचालक भीमबहादुर खड्काले जानकारी दिए । शिक्षिका क्षेत्रीले विगत झण्डै पाँच वर्षदेखि उक्त स्कुलमा अध्यापन गराउँदै आएकी छन् ।

संचालक खड्काका अनुसार हरेक वर्ष जसो विद्यालयमा योगदान दिने, लामो समयसम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूलाई क्रमश आवश्यकताको आधारमा प्रोत्साहन स्वरूप स्कुटी लगायतका सामग्री प्रदान गरिने छ । स्कुलले बुधबार एक समारोहका बीच वार्षिक नतिजा प्रकाशन, शिक्षक शिक्षिका सम्मान, विद्यार्थी पुरस्कृत, सांस्कृतिक लगायतका कार्यक्रम गरेको हो ।

नतिजा प्रकाशन भएसँगै नर्सरी देखि कक्षा ९ सम्म भर्नाको कार्यक्रम सीमित कोटामा सुरु गरिएको स्कुल सञ्चालक खड्काले जानकारी दिए । उक्त स्कुलमा हाल ७ सय सम्मको हारहारीमा विद्यार्थीहरू अध्ययनरत छन् । स्कुलले विद्यार्थीहरूका लागि भन्दै प्रत्येक कोठामा एसी जडान, स्मार्टबोर्ड, अटो खानेपानीको व्यवस्था गरेको छ ।

साना बालबालिकालाई आकर्षण गर्न स्कुलले प्ले स्टेसनको व्यवस्थापनसँगै विद्यार्थीहरूको सुरक्षाका लागि सिसी क्यामेरा जडान, कम्प्युटर ल्याब, साइन्स ल्याब, लाइब्रेरी लगायतको सुविधा उपलब्ध गराएको सञ्चालक खड्काले जानकारी दिए ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o