
नेपालगन्ज: बाँकेको खजुरामा भान्सा सुधार अभिमुखिकरण कार्यक्रम गरिएको छ । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा स्वस्थकर जीवनशैली प्रबंधनमा गृहिणी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि अभिमुखिकरण गरिएको हो । वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष सुमित्रा विकको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले भान्सालाई घरको अस्पतालको रुपमा लिन अति जरुरी रहेको बताए । भान्सा सुधार गर्नु नै रोगबाट जोगिने उपाय भएको अध्यक्ष विकले उल्लेख गरे । खजुरा जनसंख्या हेर्दा हरेक ३ सयमा १ जनालाई क्यान्सर देखिएको डाटा पालिकामा आएको उनले उल्लेख गरे । स्वस्थकर जीवनशैली अपनाउँदा स्वास्थ्यमा निकै राम्रो सुधार हुने अध्यक्ष विकको भनाई छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका डाक्टर गीता रेग्मीले नसर्ने रोगको संख्यामा उकालो लाग्दै गएकोले खान पान आहार विहारमा ध्यान नदिँदा रोगको सिकार हुन परिरहेको उल्लेख गरिन् । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनिस रूचाल्ले ठूला भनेर चिनिने रोगहरू पनि स्वस्थकर जीवनशैली नअपनाउँदा लाग्ने गरेको बताए । आधारभूत स्वास्थ्य केन्द्र खजुरा -४ ई गाउँका प्रमुख गेहेन्द्र जैशी घरको भान्सा सुधार गर्न सकिएको खण्डमा धेरै रोगबाट बच्न सकिने बताए । कार्यक्रमको सहजीकरण आयुर्वेद शाखा खजुराका प्रमुख किरन खनालले गरेका थिए ।
आयुर्वेद शाखाले स्वस्थकर जीवनशैलीका लागि खजुराका विभिन्न विद्यालयहरूमा सचेतीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। विद्यालयहरूमा ३५०० विद्यार्थीहरूलाई सचेतीकरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । चालु आर्थिक वर्षमै ९०० जना जेष्ठ नागरिकहरूका लागि शिविर समेत सञ्चालन गरिएको थियो । शाखाले कार्यालय परिसरबाटै फागुन महिनाभरि करिब २०० भन्दा बढीलाई स्वस्थकर जीवनशैलीका बारेमा जानकारी गराउने स्वास्थ्य चेक जाँच गर्ने गरेको प्रमुख खनालले बताए । मङ्गलबार गरिएको अभिमुखीकरणमा भने वडा नम्बर ३ र ४ का ३० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको आयुर्वेद शाखाले जनाएको छ ।


