
खजुरा : बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बुधबार भएको खेलमा केही विवाद सिर्जना भएको छ । स्वर्गिय गज बहादुर सिजालीको स्मृतीमा सञ्चालन गरिएको डाँफे कप फुटबलमा बुधबार न्यू दर्पण युवा स्पोर्ट्स क्लब, खजुरा ४ ई गाउँ र एफ सी ब्रोदर्स खजुरा ४ डि गाउँ बीच प्रतिस्पर्धा भएको थियो । खेल शुरुभएको २१ औं मिनेटमा न्यू दर्पणका जर्सी नम्बर २ का हरी बुढामगरले पहिलो गोल गरेका थिए । खेलको पहिलो हाफको अन्यमा एफसी ब्रदर्सका जर्सी नम्बर ४ का सुजन गुरुङलाई पहेंलो कार्ड लगत्तै रातो कार्ड रेफ्री केबी गुरूङले दिएपछि खेल विवादमा आएको थियो । खेलाडीले रेफ्रीलाई धकालेका कारण रातो कार्ड दिएको रेफ्री गुरुङले बताए । केही बेर खेल विवाद हुँदा रोकिएपछि ब्रदर्सको टीम १० जना खेलाडी लिएर पुन खेलमा फर्किएको थियो ।
खेल सकिन झण्डै १५ मिनेट बाँकी रहँदा न्यू दर्पण र ब्रदर्शका खेलाडीको मनमुटाव हुँदा दर्शकले पनि मैदान भित्र प्रवेश गरी खेल बिगार्न खोजेपछि आयोजकले बुधबारको बाँकी खेल रोकिदिएको छ । खेल खेल्दा खेलाडी नै जुध्न लागेपछि आयोजकले खेल सोही दिनका लागि रोकेको हो । बिहीबार बिहान आयोजक टीम बसेर भद्र सहमतिअनुसार निर्णय गरी बाँकीका खेलहरु सञ्चालन गरिने न्यू डाँफे स्पोर्ट्स क्लब खजुराका अध्यक्ष हरिप्रकाश विकले जानकारी दिए । बिहीबार खजुरा ३ स्थीत बाग्मती स्पोर्ट्स क्लब र पशुपति युवा क्लब घिया बीच प्रतिस्पर्धा हुने खेल संयोजक तिलाकबिर सुनारले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र पाउने प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहने लिल बहादुर थापाले प्रदान गर्ने भयका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका वरिष्ठ उपाध्यक्ष नारायण खनालले जानकारी दिए । चैत्र ९ गतेदेखि सुरु भएको दशौं ट्राफिकप चैत्र २१ गते सकिनेछ।













