नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालक कृषकलाई अनलाइन तालिमको समापन भएको छ । तालिममा कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै खजुरा गाउँपालिकाका अध्यष किस्मत कुमार कक्षपतिले ग्रीन सिटीको अन्तिम पक्ष भनेको व्यवस्थित शहर निर्माण गर्नु भएको बताउनुभयो ।
अध्यक्ष कक्षपतिले ग्रीन सिटीको शुरुवातमा कृषिलाई प्राथमिकता दिइएको जनाउनुभयो । ग्रीन सिटीको मोडालिटिको अध्ययनका लागि पहिलो चरण अन्तर्गत कृषि तथा पशु पालन रोजिएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष कक्षपतिले थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दीगोपनाका लागि तालिम दिइएकाले यसको उपलव्धी फलदायी हुने आशा व्यक्त गर्नुभएको छ । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्टको सुरुवात भैसकेको बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्नका लागि आफुले सम्बन्धित निकाय सामु कुरा राखेको बताए ।
३ दिन कृषि र ४ दिन पशुपालनसम्बन्धी तालिम संचालन भएको समापनमा बोदै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले ग्रीन सिटी प्रोजेक्ट खजुराको विकासका लागि ठुलो अवसर रहेको बताउनुभयो । उहाँले ग्रीन सिटी नै खजुराको पहिचान बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रममा अगुवा किसान गेहेन्द्र धितालले कृषिमा राम्रो गर्नलाई खर्चिलो प्रविधि विनै पनि गर्न सकिने बताउँदै जसका लागि इच्छा शक्ति आवश्यक रहेको बताउनुभयो ।
ग्रीन सिटी प्रोजेक्ट खजुराको सबै भन्दा ठुलो र गौरवको योजना रहेको उहाँले उल्लेख गर्नुभयो । अर्का अगुवा किसान मान बहादुर भण्डारीले परम्पराग्त रुपमा गर्ने गरिएको कृषि कर्मलाई आधुनिक रुपमा गर्न पर्ने रैछ भन्ने तालिम लिइसकेपछि थाहा भएको उल्लेख गर्दै सानो क्षेत्रमा गर्दै आएको व्यवसायलाई बढाउन पर्नेमा जोड दिनुभयो । किसान लक्ष्मि खनालले कोरोनाले थला पारेको कृषि क्षेत्रलाई ग्रीन सिटी मार्फत फस्टाउन सकिने बताउनुभयो । तालिमले आधुनिक कृषि कर्म गर्न हौसला प्रदान गरेको किसान खनालले उल्लेख गर्नुभयो ।
व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपति वीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन समेत गरिसकेको अवस्थामा पहिलो चरण अन्तरर्गत तालिम दिइएको कृषि शाखाका प्रमुख पुनम पोखरेलले जानकारी दिनुभएको छ । ग्रीन सिटी प्रोजेक्टका विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।