
नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा गरिएको शिविर बाट २९३ जना मोतियाविन्दुका बिरामी पत्ता लागेको छ । नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्ट्रेक्रा नेपालगन्ज र काठमाडौ स्थित रुइत फाउण्डेसनको सयुक्त सहकार्यमा सन्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ हजार ९ सय ५१ जना विरामीको चेकजाँच हुँदा २९३ जना लाई अप्रेशनका लागी सिफारिस गरिएको फत्तेबाल आँखा अस्पताल फुल्ट्रेक्राका कार्यक्रम अधिकृत उमेर सादिकले जानकारी दिए ।
विहिबार फिल्ड स्थित शिविरको सन्चालनको अन्तिम दिन राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर स्थित आधारभुत स्वास्थ्य केन्द्र, कमैयाडाँडा र फत्तेपुर स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको थियो । संचालित शिविरमा आधारभुत स्वास्थ्य केन्द्र, कमैयाडाँडामा १९९ जनाको आँखा चेकजाँच गर्दा ३१ जना बिरामी मोतियाविन्दु अप्रेशनका लागी सिफारिस गरिएको थियो । त्यस्तै फत्तेपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २२१ जना चेकजाँच गरिएकोमा ५६ जना मोतियाविन्दुका विरामी पत्ता लागेको थियो ।
अप्रेशन गर्ने समय भैसकेकालाई सिफारिस गरिएको र शिविर मार्फत नेपालगन्ज फुल्ट्रेक्रा स्थीत फत्तेबाल आँखा अस्पतालमा उनिहरुको निशुल्क अप्रेशन गरिने कार्यक्रम अधिकृत सादिकले जनाए ।
राप्ती सोनारीको खासकुश्मा स्वास्थ्य चौकी, कुसुम र कचनापुर स्वास्थ्य चौकी कचनापुरमा फाल्गुनको २५ गते, आधारभुत स्वास्थ्य केन्द्र सम्शेरगन्ज र महादेपुरी स्वास्थ्य चौकी ढकेरीमा २६ गते, आधारभुत स्वास्थ्य भवानियापुर र राप्ती सोनारी अस्पताल, बैजापुरमा २७ गते, विनौना स्वास्थ्य चौकी, विनौनामा २८ गते र अन्तिम दिन बिहिबार आधारभुत स्वास्थ्य केन्द्र, कमैयाडाँडा र फत्तेपुर स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।