
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा)ले विभिन्न विद्यालयहरुमा नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरेको छ । विद्यालयहरुमा नसर्ने रोग न्यूनिकरण अभियान अन्तर्गत विद्यालयका बिद्यार्थीहरुलाई स्वस्थजिवन शैलि र योग शिक्षा प्रदान गर्न आइतबार देखि अभियान नै सन्चालन गरिएको आयुर्वेद शाखा प्रमुख उर्मिला चौधरीले जानकारी दिइन ।
यस अभियानमा डुडुवा गाउँपालिकामा रहेका ६ वटा विद्यालयका विद्यार्थिहरुमा कार्यक्रम सन्चालन गरिने आयुर्वेद शाखा प्रमुख चौधरीले जनाइन । डुडुवा गाउँपालिका वडा नम्बर १ स्थित पिप्रहवामा रहेको श्री जनता माध्यमिक विद्यालय, वडा नम्बर २ नौरिगौढीमा रहेको पशुपति माध्यमिक विद्यालय, वडा नम्बर ३ बनकट्टी स्थित माध्यमिक विद्यालय, वडा नम्बर ४ शाहपुर्वामा रहेको श्री माध्यमिक विद्यालय, वडा नम्बर ५ कम्दीमा रहेको शहिद स्मारक माध्यमिक विद्यालय र वडा नम्बर ६ भंघोटनामा रहेको सरस्वती माध्यमिक विद्यालयमा अभियान चलिरहेको आयुर्वेद शाखाले जनाएको छ ।
यस अभियान विद्यालय स्तरमा ६ दिन सम्म चल्ने र शाखा बाट सुगर परिक्षण, रक्तचाप, बिएमआई मापन, स्वास्थ्य परामर्श कार्यक्रम भने महिनाभर चल्ने चौधरीले जानकारी दिइन । साथै स्वस्थ जिवनशैली कार्यक्रम समुदाय स्तरमा चल्ने आयुर्वेद शाखाले जनायो । नसर्ने रोगहरूको ‘स्क्रिनिङ’ अभियान डुडुवाले सुरु गरिसकेको र यसबाट नसर्ने रोगहरुको पहिचान हुने अपेक्षा गरिएको छ । यो अभियान अन्तर्गत ३० वर्ष माथिका सबै नागरिकलाई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण) रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौला सम्वन्धी रोग, उचाई र तौलको आधारमा (बीएमआई) मापन गरिनेछ ।
यो जाँच बाँकेको डुडुवा सगैं सबै पालिकाहरुमा अभियान स्वरुप नै सन्चालन हुने जनाइएको छ । कसैलाई नसर्ने रोग छ कि छैन भनेर जानकारी लिनका लागि अभियानको सुरुवात गरिएको आयुर्वेद शाखाले जनाएको छ । शाखा प्रमुख चौधरीले भने, ‘कसैलाई रोग छैन भने त राम्रो भइहाल्यो । सकेसम्म रोग लाग्न नदिऔँ’, ‘तर रोग लागिसकेपछि उपचार गर्नुपर्छ । समयमै पहिचान गरौँ भन्ने हेतुले मन्त्रालयको निति निर्देशन अनुसार नै अभियान सन्चालन गरिएको हो ।’ नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिने शाखा प्रमुख चौधरीले बताइन । जीवनशैली आफूबाट परिवर्तन गर्न गाह्रो हुन्छ । तर बिस्तारै परिवर्तन गर्न जरुरी छ’, उनले भनिन् ।