
नेपालगञ्ज : बाँकेमा एक लाख पशुमा खोरेत रोग उल्मुलन गर्न भ्याक्सिन डोज लगाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँकेले ठूला पशुहरुमा खोरेतरोग लाग्न नदिन जिल्लाभरी नै भ्यक्सिनेसनका डोज दिन लागिएको जनाएको छ । लुम्बिनी प्रदेशको खोरेतरोग उल्मुलन कार्यक्रम अन्तर्गत पशुहरुमा दिइने भ्याक्सिन डोज स्थानीय सरकारको पशुसेवा शाखा प्रमुख र भ्याक्सिनेटरको उपस्थितिमा सोमबार बिज्ञ केन्द्रले अभिमुखिकरण कार्यक्रम समेत गरेको छ।
बिज्ञ केन्द्र प्रमुख कमला अधिकारीका अनुसार सोमबार देखिनै पशुहरुमा भ्याक्सिन दिने कामको सुरु गरिएको छ । जसका लागि ८ पालिकाका ५९ जना भ्यक्सिनेटर लाई १५ दिनमा सक्ने गरी खटाइएको बताए । खोरेतरोग लाग्न नदिने भ्याक्सिन प्रयोगले जिल्लामा रहेका पशुहरू स्वस्थ रहन मद्धत पुग्ने विश्वास लिइएको कार्यालय प्रमुख अधिकारीले बताइन् । खोरेतरोग लागेका पशुहरुमा मुख पाक्ने, खुट्टाको खुर पाक्ने अथवा घाउ हुने, ज्वरो आउने, दुब्लाउँदै जाने, खाना नखाने जस्ता लक्षण देखिने गर्दछ ।

