नेपालगञ्ज : बाँकेको नेपालञ्जमा पशु हाटबजार संग सम्लग्न सरोकारवालालाई शुक्रबार पशु क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा उद्योग वाणिज्य संघको सभाहलमा भएको सचेतना कार्यक्रममा खुला सिमानाका कारण अवैध रुपमा भित्रने कुखुरा लगायतले थप समस्या निम्त्याइरहेको सहभागीहरुले गुनासो गरे ।
पशु क्वारेन्टाइन कार्यालयका निमित्त कार्यालय प्रमुख डा. राज कुमार थारुले सचेतना कार्यक्रममा पशु क्वारेन्टाइनको महत्त्व, सीमा पशु क्वारेन्टाइन, आन्तरिक पशु क्वारेन्टाइनका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। निमित्त प्रमुख थारुले पशु क्वारेन्टाइन कार्यालय बाँके नेपालगन्ज अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट जमुनाह, आन्तरिक चेक पोष्ट दाङ भालुबाङ र पशु क्वारेन्टाइन चेक पोष्ट बर्दिया गुलरिया मार्फत नियमन नियन्त्रणको काम गर्दै आइरहेको बताए । पशु क्वारेन्टाइन सम्बन्धी जारी भएका ऐन नियम उल्लंघन गरेको खण्डमा हुने सजाए र जरिवानाका विषयमा पनि निमित्त प्रमुख डा. थारुले कार्यक्रममा जानकारी दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पौडेलले स्थानीय सरकारले वितरण गर्ने पशुपंक्षीको चेक जाच हुन जरुरी रहेको उल्लेख गरिन् । कार्यक्रममा जानकी गाउँ पालिका पशु सेवा शाखा प्रमुख दिल बहादुर खड्का , पशु हाट बजार जानकीका उपाध्यक्ष दिलीप कुमार वर्मा, सुरक्षा निकाय, हाट बजार व्यवसाय, किसान, पत्रकार लगायतको उपस्थिति रहेको थियो। पशु क्वारेन्टाइन कार्यालय पशु सेवा प्राविधिक इन्दु रेग्मीले सचेतना कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।













