अदालतको आदेश स्वीकार्ने ‘ अध्यक्ष थापा ‘

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष किशोर थापाले अदालतको आदेशलाई स्विकार गर्ने बताएका छन् । सरकारले क्यान्सर अस्पतालको अध्यक्षबाट भक्तबहादुर केसीलाई हटाएर नेकपा (एकीकृत समाजवादी) का नेता किशोर थापालाई नियुक्त गरेपछि अदालतले उत्प्रेषणको आदेश जारी गर्दै तत्कालका लागि केसीलाई नहटाउन भनेपछि थापाले अदालतको आदेश स्विकार गर्ने बताएका हुन् ।

‘विभिन्न सामाजिक संजालबाट अदालतले उत्प्रेषणको आदेश दिएको सुनेपछि पदमा बसिरहन मन लागेन,’ उनले भने, ‘अदालतको आदेश शिरोधार्य गरेर अगाडी बढ्छु ।’केसीलाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अध्यक्षमा नियुक्त गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै थापाले आफ्नो टिमले छोटो समयमा धेरै काम गरेको दावी पेश गरे ।

उनले काम गर्ने प्रवल इच्छा र दह्रो विश्वास हुँदाहुँदै अदालतले काम गर्न नदिएको बताए ।उनले १० दिनमात्र काम गर्न पाएको जिकिर गर्दै १० दिनमा १० नयाँ काम गरेको सार्वजनिक गरे । ‘अध्यक्षमा नियुक्त भएपछि मेरा गुरु समेत रहनु भएका भक्तबहादुर केसीलाई मैले अदालत जाने भए म अध्यक्ष बन्दैन भनेर सोधेको थिएँ, उहाँले अदालत जान्न भनेर आश्वास्त पारेपछि मात्र मैले पदभार सम्हालेको थिए, तर पछि उहाँ अदालत जानु भएछ,’ उनले भने ।

अध्यक्ष पदबाट हटे पनि क्यान्सर अस्पतालको विकास र सेवा विस्तारका लागि कुनै कसुर बाँकी नराख्ने बताउँदै उनले अस्पताल सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताए । ‘क्यान्सर अस्पताल भनिए पनि क्यान्सरको विशेषज्ञ अस्पतालको रुपमा विकास हुन अझैँ बाँकी छ,’ उनले भने, ‘अस्पताललाई विशेषज्ञ अस्पताल बनाउन मेरो सहयोग रहिरहने छ ।’

प्रतिक्रिया