नेपालगन्ज : नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन् । यसमा सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तृतीय भए । सन्ताेषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दाैड पूरा गरि तृतीय भएका थिए ।
धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन् । उनलेे ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरि दाेस्राे भइन् । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे । रात्री दाैड जीवनमा पहिलोपटक दाैड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताएका छन् । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ ।’ पालले भने-‘रात्री दाैडकाे मज्जा नै बेग्लै हुने रहेछ ।
उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसाेचेकाे नतिजा हात पार्दा निकै खुशी भएको बताइन् । ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु ।’ उनलेे भनिन् -‘याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।’
भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिंदै दाेस्राे तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिंदै तेस्राे भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे प्रतिक्रिया दिए । राति दाैड्दा फरक अनुभुति हुने रहेछ ।’ उनलेे भने-‘धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।
नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड बीपीको चाेम, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा बीपी चाेक पुगेपछि दाैड सम्पन्न भएको थियोे ।
नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयाेजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दाैडकाे उदघाटन गरेका थिए ।