स्वदेश फर्किएका एक श्रमिक : जसलाई पन्चेबाजासहित गरियो स्वागत

बुधबार साँझ नेपालगन्ज विमानस्थलमा करिब एक सयजनाभन्दा बढी मानिसहरू भेला भएर कसैको प्रतीक्षा गरिरहेका थिए । त्यो पनि पन्छेबाजासहित । विमानस्थलमा तामझामसहित कसैको स्वागत गर्न लागेको भनेपछि कोही ठूलै नेता आउँदै होला भन्ने अनुमान त्यहाँ रहेका मानिसहरूले गरेर चासो राखिरहेका थिए । अमेरिकाबाट एकजना सर्वसाधारण श्रमिक आउँदैछन् र उनकै स्वागत गर्न लागिएको हो भन्ने थाहा पाएपछी मानिसहरू छ्क्क पर्थे । विमानस्थलमा पन्चेबाजा बजेपछि झन धेरैको ध्यान तान्यो । पन्चेबाजाको धुनमा फुलमाला र खादाले सजिएका एक व्यक्ती आफुलाई स्वागत गर्न आएकाहरूसँगै नाच्दै थिए । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्ने मान्छेहरू पुगे । गाउँमा पुग्दा पनि पन्चेबाजासहित स्वागत गरियो ।

यसरी घर फर्किएको बेला विमानस्थलमै पन्चेबाजासहितको स्वागत पाउने व्यक्ती बाँकेको खजुरा घर भै हाल अमिरिकामा बसिरहेका लिलबहादुर थापा हुन् । उनी अमेरिकामा श्रम गरेर कमाएको पैसाले नेपालमा गरिब, दु:खीहरूलाई सहयोग गर्दै आएका छन् । उनले पत्रकारहरूले प्रकाशमा ल्याएका गरिब दुखीहरूलाई उनीहरूको अवस्था हेरेर खाद्यान्न, लत्ताकपडादेखि घर समेत बनाइदिएर सहयोग गर्दै आएका छन् । थापाका अनुसार उनले श्रम गरेर कमाएकै आम्दानीबाट करिब एक करोड रुपैयाँभन्दा बढी दान गरिसकेका छन् । खजुरा निवासी पत्रकार खगेन्द्र दाहालका अनुसार थापालाई स्वागत गर्न स्थनीयहरू स्वत : स्फुर्तरुपमा विमानस्थल पुगेका थिए । `अरु त कुरै छोडौं पन्छेबाजा बजाउनेहरूले पनि पारिश्रमिक नलिएरै स्वागतमा खटिए । स्थालीयहरूले आफूसँग भएका गाडीहरू लिएर स्थानीयहरूलाई विमानस्थलसम्म पुर्याउन व्यवस्था गरिदिए । एकजना सामान्य मान्छेले पाएको यो सम्मानको विशेष अर्थ छ ।

थापा पनि आफ्ना गाउँबासीहरूको प्रेम र सम्मानले हर्षविभोर भए । उनको आँखाबाट खुसीका आँशुहरू खसे ।समाजसेवी थापाले बाँके, गुल्मी, बाग्लुङ्ग, सुर्खेत, म्याग्दी, कैलाली, पर्बत, पाल्पा, स्याङ्गजा, अर्घाखांची, रुपन्देही, दाङ्ग लगाएतका जिल्लाहरुमा सहयोगापेक्षीहरूलाई सहयोग गरिसकेका छन् । उनले पाँच विपन्न परिवारका लागि घरसमेत निर्माण गरिदिएका छन् ।

यसका साथै स्थानीयस्तरमा हुने सामजिक कामहरूमा आर्थिक समस्या भयो भने हामी उहाँलाई नै सम्झिन्छौं । उहाँले सहयोग गरेरै हाम्रा धेरै सामजिक कामहरू सफल भएका छन्,´ थापालाई स्वागत गर्न पुगेका स्थानीयहरूले भने । हाल उनले बाँकेको खजुरामा वर्षातका कारण घर भत्केपछि घर निर्माणमा सहयोग गर्दै छन् ।उनले एउटा घरका लागि आंशिक र अर्को घरका लागि पूर्ण सहयोग गर्न लागेको जानकारी दिए । केही समयका लागि स्वदेश फर्किएका उनी विभिन्न सामाजिक काममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उहाँले युवालाई हौसला दिने, बेला बेलामा खेलकुद क्षेत्र, कलाकारीता, शिक्षामा लागेकाहरुलाई समेत आर्थिक सहयोग गर्ने गर्नुभएको छ,´ खजुरा पुर्व वडध्यक्ष तिलकवीर सुनार भन्छन्, ´उहाँको सहयोगले कतिको भोको पेट भरिएको छ भने कतिको रोग निको भएको छ ।´
उमेरले ५ दशक काटेका लिलबहादुर अमेरिकामा दैनिक १६ घण्टा काम गर्ने गरेको बताउँछन् ।

अमेरिकामा अवकाशप्राप्त व्यक्तिहरुलाई सेवा दिने एक कम्पनीमा काम गर्ने लिलबहादुर आफूले गरेको सहयोगलाई एक मानिसको कर्तव्य पूरा गरेको रुपमा अथ्र्याउँछन् । साथैै, उनले आफूले परोपकारको गुण आफ्नो बुवाबाट सिकेको बताए । उनका बुवा गजबहादुर सिजाली खजुरा क्षेत्रका प्रतिष्ठित समाजसेवी थिए । खजुराको डि गाउँ, आदर्श र मनकामना विद्यालयका संस्थापक अध्यक्ष, न्यू डाँफे स्पोर्ट्स क्लबका संस्थापक अध्यक्षसमेत रहेका गजबहादुरका साइलो छोरा हुन् लिलबहादुर । बुवाको समाजसेवा र परोपकारप्रतिको लगावबाट सानैदेखि प्रभावित भएका लिल आफ्नो लागि मात्रै सोचेर सन्तुष्ट हुने स्वभाव आफ्नो नभएको बताउँछन् । ॅदुःखी पीडित कोही छ भने उसका लागि सकेको सहयोग गरौँ भन्ने भाव ममा आइहाल्छ । कमाएर आफ्नो लागि थुपारेर मात्रै के हुन्छ र?’ लिलबहादुरले भने ।

लिलबहादुरको अर्को विशेषता पनि चकित पार्ने खालको छ । त्यो हो उनको परिश्रमप्रतिको लगाव । उनी शरीरले भ्याउन्जेलसम्म काममै बिताउँछन् । आफ्नो कम्पनीको काम भ्याएर उनी अन्य ठाउँमा पनि काम गर्न भ्याइहाल्छन् । ॅकहिलेकाहीँ त लगातार ९० घण्टासम्म पनि काम गरेको छु । मलाई काम गर्नमै मजा आउँछ । यहाँ अमेरिकामा मेरा सहकर्मीहरु मलाई देखेर चकित हुन्छन् । कम्पनीले पनि उत्कृष्ठ कर्मचारीका रुपमा मलाई सम्मान गरेको छ,’ लिलबहादुरले भने ।
सानोमा दाङमा रहेका दिदी भिनाजुकहाँ बसेर माध्यमिक र सिएमएको शिक्षा लिएका लिलबहादुरले भिनाजुको मेडिकलमा १८ वर्ष काम गरे । एक वर्ष अर्को एक मेडिमलमा काम गरे । त्यसपछि डिभीमार्फत सन् २००८ डिसेम्बरमा अमेरिका गएका उनी त्यहाँको मिहिनती संस्कारबाट प्रभावित भए । काम गरेपछि पारिश्रमिक पाउने ग्यारेन्टीले उनलाई मिहिनत गर्न थप हौस्यायो । आफ्नो शरीरले भ्याएसम्म काम गर्न थाले । उनको परिश्रम गर्ने बानी अहिले ४९ वर्षको उमेरमा पनि उस्तै छ । त्यही मिहिनतको प्रतिफलस्वरुप उनले आफ्नो लागि पनि प्रशस्त कमाई गरे । कमाईको एक अंश परोपकारमा खर्च गर्दै आए । अहिले आफ्नो मासिक कमाइ करिब १५ लाख हुने गरेको उनी बताउँछन् ।

उनले आफ्नो कमाईबाट बाँके र गुल्मीका गरी चार परिवारलाई पक्की घर निर्माण गरिदिएका छन् । देशका सयौँ ठाउँमा हुने सामाजिक काममा सहयोग गरेका छन् । बिरामी र दुःखीपीडितको लागि आवश्यक परेजति रकम सहयोग गरेका छन् । उनको सहयोगले सुत्केरी हुन नसेककी आमाहरुलाई अस्पताल पुर्‍याएर ज्यान बचाइएको छ । मृर्गौलाको डायलासिस गर्न नसकेका बिरामीहरुले उपचार पाएका छन् । भोकै परेका अनाथ बालबालिका र सहाराविहीन ज्येष्ठ नागरिकहरुले केही समयका लागि भए पनि राहत पाएका छन् ।

साथिभाइ तथा सन्चारमाध्यमबाट सहयोगापेक्षीहरुको सम्पर्कमा पुग्ने गरेको बताउँदै पछिल्लो समय प्रायः युट्युबका माध्यमबाट सहयोगापेक्षी मानिसहरुको बारेमा थाहा पाउने गरेको उनले उल्लेख गरे । उनले सहयोगापेक्षीहरुका बारेमा बनाइएका भिडियो सामग्री हेरेर सहयोग गर्ने मानिसहरु छनौट गर्छन् र सकेको सहयोग पठाइदिन्छन् । कतिपय अवस्थामा उनीहरुको आवश्यकताले मागेजतिको सहयोग पनि उनले गरेका छन् । विशेषगरी उनले गुल्मी टेलिभिजन युट्युव च्यानललाई पछ्याउने गरेको बताए । कतिपय अवस्थामा सामाजिक सन्जालमा मिथ्या सामग्रीहरु पनि आउनेतर्फ सचेत रहँदै पीडितहरुले सहयोग पाउने विश्वस्त भएर सहयोग पठाउने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया