अभिनेता सलमान खान नेपाल आउँदै

आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खान नेपाल आउँदैछन् । ‘दबंग टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन्। त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् ।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ। त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ।

त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ। जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन्। उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ। जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ। यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन्। उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन्। नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अभिनेता सलमान खानसँग भर्चुअल सम्वाद गरेका थिए।

जेठ १४ गते दशरथ रंगशालामा हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे उनीहरूबीच छलफल भएको हो ।

छलफलका क्रममा सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । यस्तै, भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो । मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए । कुराकानीका क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया