नेपालगन्ज : नेपालगन्जको कान्तितालमा जलिय जैविकता संरक्षणसहितको विकल्प अपनाउन संरक्षणकर्मीहरुले सुझाव दिएका छन् । बुधबार नेपालगन्जको कान्तितालमा अवलोकलनका लागि बर्दिया र कैलालीबाट आइपुगेका चरा विज्ञ लगायतको टोलीले मोटरबोटरको विकल्पमा प्राकृतिक चरापार्क बनाएर आम्दानी गर्न सकिने विकल्प बताएका छन् । नेपालमा चराको खोज, अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको नेपाल पंक्षि संरक्षण संघका प्रोजेक्ट फिल्ड अफिसर हिरु डगौँराले कान्तितालमा बुधबार करिब डेढ घण्टाको अवलोकनमा ३२ प्रजातिका चरा देखिएको बताउदै भने ‘तालमा ३ प्रजातिको कमलको फूल छ, सबैभन्दा बढी जलअप्सरा जातका पंक्षिहरु छन् ।
विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाँउका रुपमा कान्तिताल छ ।’ सिमसार क्षेत्रमा मात्र प्रजनन् गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनौट गर्ने गरेको बताउदै डगौँराले बाँकेमा कान्तिताल, बर्दियामा बढैयाताल, कैलालीमा घोडाघोडी र कन्चनपुरको पुरैनी ताल छनौट गरेको अनुभव सुनाए ।
जलवायु परिवर्तन र मानविय व्यवहारले नेपालका सिमसार क्षेत्रमा चराहरु खतरामा छन् । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्तिताल महत्वपुर्ण रहेको बताउदै डगौँराले भौतिक निर्माण मात्र विकास नभई, जैविक विविधताको संरक्षण गर्ने सोच पनि यस परिभाषामा अटाउनुपर्ने बताए । ‘पर्यावरण स्वच्छ हुनु भनेको यहाँका मानीसको स्वास्थ्य पनि स्वच्छ हुनु हो’ उनले भने ।
बाघ, हात्ति, वन संरक्षणको कुरा हुने तर जलिय जैविक विविधताकोे कुरा कम हुने गरेको उनले दुःखेसो गरे । स्थानीय सरकारले यस्ता सिमसार क्षेत्रहरुमा दिगो विकासको अवधारणा अनुसार विकास गर्नुपर्ने उनको भनाई छ । प्रकृतिसंग रमाउन चाहिरहेका सहरका मानीसहरुलाई चरा देखाउन, यहाँका स्कुल, कलेजहरुलाई लक्षित गरि जैविक विविधता सिकाई सेन्टरका रुपमा पनि तालको विकास गरेर आम्दानी गर्न सकिने उनको सुझाव छ ।
पंक्षि विशेषज्ञ रामबहादुर शाहीले ताल अवलोकन पछि बाँके बर्दियामा भएका सिमसार मध्य राम्रो अवस्थाको तालका रुपमा कान्तिताल देखिएको बताए । नेपालमा संरक्षणको सुचिमा ९ प्रकारका सारस रहेकोमा ती मध्य ६ वटा तराईमा देखिने र ३ वटा कान्तितालमा देखिएको बताए । जाडोयाममा साइबेरिया, श्रीलंका लगायतका देशबाट आउने चरा यहाँ आराम गरेर भारत जाने र त्यहाँबाट फेरी यहाँ आएर फर्कने गरेकोले यो ताल महत्वपुर्ण रहेको उनको भनाई छ ।
बर्दियाको बढैयाताल ठेक्कामा गएपछि वातावरणमैत्री व्यवहार नहुँदा ताल सुक्दै गएको उदाहरण दिदैँ यहाँको अवस्था पनि त्यसो हुन नदिन स्थानीय समुदाय पनि जागरुप हुनुपर्नेमा उनको जोड छ । मोटरबोट चलाउनका लागि तालभित्रको चराको प्राकृतिक वासस्थान नास हुने, भ्यागुता, सर्प लगायत पानीमा आश्रीत असंख्य सुक्ष्म प्राणीलाई मोटरबोटको वातावरण र हलचलले असर गर्ने भएकाले मोटरबोटको सट्टामा काठको डुंगा प्रयोग गर्न सकिने उनको पनि सुझाव छ ।
तालको झारलाई चराले बासस्थानका रुपमा प्रयोग गर्ने मात्र नभई झारले पानी जम्मा गर्ने काम गर्छ । यस्ता तालबाट जमिन पुर्नभरण हुने बताउदै शाहीले भने ‘झार भएन भने ताल छिटो सुक्छ । तालले चराहरुको मात्र नभई यहाँको पर्यावरणको पनि सुरक्षा गर्छ’। यहाँ हरेक वर्ष सुख्खायाममा हातेपम्पहरुमा पानी सुक्ने समस्या देखिने गरेको छ ।
नेपालमा कम भएकाले यस्ता सिमसार क्षेत्रको संरक्षण गर्ने दायित्व जिल्ला वन कार्यालयको भएको उनी बताउछन् । यता डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाही कार्यालयले तालमा वृक्षारोपण लगायतका कार्यक्रम गरेको बताउदै उनी यसको संरक्षणको अपनत्व स्थानीय सरकारले लिनुपर्ने बताउछन् ।
स्थानीय एवम् संरक्षणकर्मी आशिष कुमार चौधरीले नेपालगन्ज क्षेत्रमा आगन्तुक चरा आउने अरु सिमसार नभएको बताए । यस क्षेत्रमा हरेक वर्ष हुने चरा गणना कार्यमा सहभागी भइसकेका उनी भन्छन् ‘जिल्लामा यहाँजस्तो ठुलो र चरामैत्री ठाँउ छैन ।’
चैधरीका अनुसार कोहलपुर भन्दा माथी सुतैँया ताल भएपनि सानो क्षेत्रफलमा छ । फुल्टेक्रा तालमा पनि नेपालगन्ज उपमहानगरपालिकाले क्रिक्रेट मैदान बनाउने बताएपछि यहाँ पनि विवाद छ ।
२ वर्ष अगाडी धम्बोझीमा रहेको वाटरपार्कमा सयौँ चराहरु गणना गरिएको भएपनि मोटरबोट चले यता चरा नदेखिएको उनले बताए । यहाँको जस्तो अवस्था हुन नदिन आफुहरुले निरन्तर खबरदारी गरिरहेको अर्का स्थानीय संरक्षणकर्मी डा. विनोद कर्ण बताउछन् । आफुहरु कसैको रोजगारी मास्ने पक्षमा नभएको भन्दै डा. कर्णले सिमसार जोगाउदै आम्दानी गर्नेतर्फ व्यवसायीले सोच्नुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा आर्थिक क्रियाकलाप सन्चालन र व्यवस्थापनको ठेक्का लिएका ठेकेदारले मोटर बोट चलाउने तयारी गरेपछि स्थानीय संरक्षणकर्मीहरु सिमसारलाई प्राकृतिक रुपमै संरक्षण गरेर आयआर्जनका लागि विकल्प रोज्न आह्वान गरिरहेका छन् ।
तालमा मोटरबोट सन्चालन गर्नका लागि परीक्षण भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाले वातवरणिय प्रभाव मुल्यांकन गरेर तालको विकासलाई अघि बढाउनुपर्ने स्थानीयको माग छ । उपमहानगरपालिकाले मोटरबोट चलाउन अनुमति दिनु नै गलत भएको उनिहरुको भनाई छ। विगत दुई वर्ष देखि उक्त तालमा चरा गणना सुरु गरिएकोमा पहिलो वर्ष तालमा २५ प्रजातिका चरा फेला परेका थिए। यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका थिए ।