
नेपालगन्ज : हरितालिका तिज पर्वलाई मध्यनजर गर्दै आयोजना गरिएको ‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को खजुरा अडिसन आज हुदैछ। बाँकेको खजुरा गाउँपालिका १ मा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रले तिजको अवसरमा आयोजना गरेको तिज आइडलको नेपालगन्ज अडिसन यस अधि गत शनिबार सम्पन्न भैसकेको र अर्को अडिसन खजुरामा गर्न लागिएको हो ।
रिद्धिसिद्धि खजुरा तीज आइडल२०८१ को प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने प्रतिष्पर्धीहरुको उमेरको हद आयोजकले तोकेको छ । यस अघि आयेजकले १६ वर्ष माथि र ३० वर्ष मुनि राखिएकोमा सबै सरोकारवालाहरुको सुझावलाई मध्यनजर राखी सो उमेर हदलाई १३ वर्ष माथि र ३० वर्ष मुनि राखिएको राधापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए ।
खजुरामा शनिबार आज हुने अडिसनमा शैक्षिक संघ संस्था, क्लब, समूह र ईच्छुक व्यक्ति बिशेषले सहभागिता जनाउने अध्यक्ष गुरुङले जनाए । अडिसन पछि मेघा राउण्ड र अन्त्यमा फाइनल खजुरामै गरिने कार्यक्रमका संयोजक तथा सिकाई केन्द्रका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा विजेता हुनेहरुले सुनका गहनाका साथै अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।