नेपालगञ्ज, १७ साउन । वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको अवसरमा आज बुधबार अस्पताल परिषरमा स्तनपान गराइरहेका महिला, स्वास्थ्यकर्मी, पत्रकार लगायतसंग छलफल कार्यक्रम गरेको छ । ‘स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ यसवर्षको स्तनपान सप्ताह आजबाट सुरु भएको छ ।
यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्व बुझाउन र यसले बालबालिकाको विकासमा हुने फाइदाहरुका बारेमा जानकारी दिन छलफल कार्यक्रम गरिएको अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले बताइन् । कार्यक्रममा बोल्दै डा. थापाले स्तनपानले बच्चालाई मात्र नभई आमाको स्वास्थ्य स्वस्थ राख्न मद्यत पुग्ने बताइन् । आमाको स्तनपान गरेको बच्चाहरु पढाईलेखाईमा अब्बल भएको देखिएको छ । नियमित गरिने स्तनपानले महिलाहरुलाई ओभरी लगायतको प्रजनन स्वास्थ्यमा हुने क्यान्सरको जोखिमलाई घटाउने बताउदै डा. थापाले भनिन् ‘स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं।’ कार्यक्रममा आहारविद शुशिला खनालले पारिवारीक साथ नपाएका र प्रयाप्त पोषणयुक्त खानेकुरा नपाएका सुत्केरी आमाहरुले दुध नआउने समस्या झेल्ने गरेको बताइन् ।

बच्चा जन्मिए पश्चात सुत्केरीले हरियो सागपात, माछा मासु खानुपर्ने र पोषणयुक्त यी खानाहरुले बच्चा र आमा दुबैको पाचनप्रणालीमा सघाउने बताइन् । उनले कस्ता खानेकुरा कति खाने भन्ने बारेमा प्रस्तुती राखेकि थिइन् । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान गर्ने सही तरिकाका बारेमा पनि जानकारी गराए । अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने बताएको छ । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ ।
डाक्टरहरुकाअनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्त्व छ । नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।
