जयेन्दु बालसुधार गृहमा बालकमा छाला रोगको संक्रमण

जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र एडभोकेसी फोरमले गरे भेरी अस्पताल र जयेन्दु बालसुधार गृहसंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर
स्वास्थ्य शिविरबाट ११९ जना कानूनी बिवादमा परेका बालबन्दीले पाए स्वास्थ्य सेवा

बाँके स्थित जयेन्दु बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरुका लागी निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।
एडभोकेसी फोरम नेपाल र जिल्ला बालन्याय समिति,बाँके जिल्ला अदालतले जयेन्दु बालसुधार गृह र भेरी अस्पतालसंगको सहकार्यमा जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरेको हो । शिविरबाट ११९ जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग बिशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवालीको टोलीले उपचार गरको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरुमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डण्डीफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिईन ।
स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन सत्रमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानी नजानी कानूनी बिवादमा परेका बालकहरुले बिगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा जोड दिए । सुधार गृहमा बालकहरुले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको बताए । अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईले जानकारी दिए । सुधार गृहमा छाला रोगको संक्रमण फैलिई बालकहरुमा स्वास्थ्य समस्या देखिए पछि एडभोकेसी फोरमसंगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरिएको न्यायाधीश प्रसाईले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी बालबन्दी लाभान्वित हुने भन्दै बालकहरु असल नागरिक बन्न सकेमा समाजमा पुनस्थापना हुनु सहज हुने बताए ।
एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सुधार गृहमा ठुलो संख्यामा छाला रोगको संक्रमण फैलिए पछि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिदै सुधार गृहमा नियमित रुपमा स्वास्थ्य उपचार आवश्यक देखिएको बताए । एडभोकेसी फोरमले बालसुधार गृहमा रहेका बालकहरुका लागी खेलकुद, लत्ताकपडा लगायत पुनस्थापना र आवश्यक कानूनी सहयोग गर्दै आएको संयोजक गौतमले जानकारी दिए ।

बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरुलाई आफुले छोराको रुपमा हेरेको भन्दै बालकहरुले पनि असल आचरण राख्नु पर्नेमा जोड दिईन । एडभोकेसी फोरमको सहयोगले बालकहरुको स्वास्थ्य उपचारमा मद्धत पुगेको भन्दै सुधारगृह इन्चार्ज मगरले फोरमले अहिलेसम्म बालसुधार गृहमा रहेका बालकहरुका लागी स्वास्थ्य, शिक्षा, खेलकुद, पुनस्थापना लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताईन ।
कार्यक्रममा बाँके जिल्ला अदालतमा श्रेस्तेदार गोबिन्द आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलक बहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरिक्षक नेरेश कुमार खड्का, बालसुधार गृहका प्रसनी सुनिल शाही लगायतको उपस्थिति रहेको थियो ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले संचालन गरेको उद्घाटन सत्रको अध्यक्षता जयेन्दु बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले गरेकी थिईन । सुधार गृहमा ११९ जना बालकलाई छाला सम्बन्धी रोगको समस्या देखिएको र अन्य केही बालकहरुमा अन्य स्वास्थ्य समस्या देखिएको उपचारमा संलग्न यौन तथा छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिईन । गंभिर प्रकृतीका बिरामीलाई थप उपचारका लागी भेरी अस्पतालमा आउन सुझाव दिईएको डा. गौतमले बताईन । केही दिन पहिले भएको जिल्ला बालन्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गंभिर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले कानूनी बिवादमा रहेका ५ जना बालकहरुलाई एडभोकेसी फोरम नेपालद्धारा समाजमा पुनस्थापनाका लागी प्रति वालक बिस हजार रुपियाका दरले उपलब्ध गराईएको एक लाखको बैंक बिवरण बिमला काउचा मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त रकम बालक छुट्ने बेला बितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताईन । फोरमले बालसुधार गृहबाट छुटेका बालकहरुलाई सानो तिनो पेशा ब्यवशाय गरि समाजमा पुनस्थापना हुन सहज होस भन्ने उदेश्यले जयेन्दु बालसुधार गृहमा बालकलाई एडभोकेसी फोरमको जिविकोपार्जन सहयोग गर्दै आएको एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया