
नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमा कृषि क्षेत्रको ठुलो योगदान छ । दाल भात तरकारी मुख्य आहार भएर होला क्षेत्रफल र उत्पादनको हिसाबले नेपालमा बर्षे सिजनमा धान र हिउँदे सिजनमा मसुरोलाई गहुँ र तेलाबाली पछिको प्रमुख बालीको रुपमा लिइन्छ । नेपालीको जस्तै एसियाली मुलुकका अधिकांश जनसंख्याको प्रमुख खाद्यान्न वा खाद्य आहार भएर होला यही क्षेत्रले धानको करिब ९० प्रतिशत र मसुरोको करिब ३९ प्रतिशत उत्पादन गरेर विश्वको कूल उत्पादनमा हिस्सा ओगटेको छ । उत्पादको हिसाबले नेपाल विश्वको कूल उत्पादको अनुपातमा धानमा सोह्रौं र मसुरोमा छेठौं स्थानमा पर्दछ । तरपनि खाद्यसुरक्षाको अवस्थालाई हेर्नेहो भने नेपालको कूल जनसंख्याको करिव १६ प्रतिशत अर्थात ४.६ मिलियन जनसंख्या अझैपनि खाद्यसुरक्षाको जोखिममा रहेका छन् जसमा करीव ४०% बालबालिकाहरु खाद्य तथा पोषणमा अशुरक्षित अवस्थामा रहेका देखिन्छन भने करिव १७ प्रतिशत महिलाहरु गर्भिणी अवस्थामा अवार्चीन रुपमा पोषणको हिसाबले असुरक्षित अवस्थामा रहेका छन् ।
नेपालको संविधानले प्रदत्त गरेको अधिकार मध्य जनताको खाद्य तथा पोषण शुरक्षा नैसर्गिक अधिकार भित्र पर्दछ । तरपनि बहुसंख्यक नेपालीहरु अझैपनि खाद्यान्नको अभावमा पिल्सनु परेको छ । अझ त्यसमापनि ५७.३ जनसंख्या कृषि पेशामा संलग्न र कृषि तथा वन क्षेत्रबाट आउने कूल गार्हस्थ उत्पादनमा धानले मात्र करिब १६ प्रतिशत ओगटेको अवस्थामा यसलाई अझबढी गम्भीरताका साथ लिनु पर्दछ । भन्सार विभागको तथ्यांकका अनुसार हाल नेपालले करिब ३३.६ अर्व रुपैयाँ बराबरको धान तथा चामल र ४.४ अर्व रुपैयाँ बराबरको हिउँदे कोसेबाली विशेष गरि मसुरो आयात गरेको छ । यस्तो आयातको अवस्थालाई हेर्दा हाम्रो जस्तै खाद्यआहार भएका छिमेकी वा एसियाली मुलूकमा थप खाद्यान्न संकट पर्ने अवस्था आएमा हामीले खाद्यान्नको अझ बढी संकट बेहोर्नु पर्ने अवस्था आउन सक्दछ । धान तथा चामलको धेरै जसो आयातको हिस्सा भारत, चीन, थाइल्याण्ड र भेतनामले ओगटेको छ भने खाद्यान्नको मुल्यवृद्धि पनि ५–६ महिनाको अवस्थालाई हेर्नेहो भने करिब १५ देखि २० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
खाद्यान्नमा आत्मनिर्भर तथा जनताको खाध्य तथा पोषण शुरक्षाको लागि यीदुई बालीहरुको उत्पादन वृद्धिको लागि पहल कदमी चाल्नु आजको महत्वपूर्ण आवश्यकता रहेको छ । धान–चामल र मसुरोको आयातको अवस्थालाई हेर्दा अहिलेको धानको उत्पादकत्वलाई ३.८ टन प्रति हेक्टरबाट बढाएर ४.० टन प्रति हेक्टर र मसुरोको उत्पादकत्वलाई १.२ टन प्रति हेक्टरबाट बढाएर १.४ टन प्रतिहेक्टर मात्र पुर्याउन सके देश खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने देखिन्छ । यस किसिमको उत्पादनको आंकडालाई नेपालले अहिलेको अवस्थामा सजिलै पुरा गर्ने देखिएपनि राज्यको ध्यान यसलाई हासिल गर्नु पर्नेतिर आकृष्ट हुनुपर्दछ ।
धानको उत्पादन वृद्धिको लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सफारिस गरेका उन्नत जातहरु जसले ४ टन भन्दा बढी उत्पादन दिन सक्दछन् जस्तैः हर्दिनाथ ६, हर्दिनाथ ४, हर्दिनाथ ३, सुख्खा धान ५, स्वर्ण सब १, सावा मन्सुली सब १, राधा १४, खुमल ४, खुमल ११, सुचिकृत हाइब्रिड, आदिलाई प्रोत्सहान गर्नुको साथै आवश्यकताको आधारमा रासायनिक मलको सहज आपूर्ति र सिंचित क्षेत्रलाई अहिलेको ३५ प्रतिशतबाट जति सक्यो बढाउनु पर्ने अवस्था देखिन्छ ।
देशमा मसुरो खेती विशेषतः धानमा आधारित बाली प्रणालीमा गर्ने गरिन्छ । क्षेत्रफलको आधारमा वर्षे सिजन धानको क्षेत्रफलको मात्र १२ प्रतिशत क्षेत्रफलमा मसुरो खेती गर्ने गरिन्छ । मसुरोको उत्पादन गिरावटको कारणले नेपालमा मसुरोको खेती गरिने क्षेत्रफल घटदो क्रम वा स्थिर अवस्थामा रहेको छ । सामान्यतया मसुरो लगाउने जग्गामा लामो अवधिका धानको जात छनौट र जलवायु परिवर्तनका कारण साघुरिंदै गएको हिउँदे सिजन यसका मुख्य कारक तत्वका रुपमा रहेको देखिन्छन् । त्यसैले नार्कले सिफारिस गरेका मसुरोका १.४ टन प्रति हेक्टर भन्दा बढी उत्पादन दिने जातहरु जस्तैः खजुरा मसुरो १, खजुरा मसुरो २, खजुरा मसुरो ३ आदिलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ । मसुरो लगाउने समय र त्यसबाट हुने उत्पादनलाई वर्षे धानको छनौटले उल्लेखनीय असर पार्ने भएकोले हिउंदमा मसुरो लगाउने जग्गामा वर्षे धानको छनौट गर्दा छोटो अवधिमा पाक्ने (करिब १२५ दिन) धानको छनौट गर्नुपर्ने अति आवश्यक देखिन्छ । यसबाट नेपाल भात र दाल अर्थात धान र मसुरोको उत्पादनमा आत्मनिर्भर हुनुको साथै आगामी वर्षहरुमा यस क्षेत्रको विकासमा ध्यान पुर्याउन सकेमा यिनिहरुको निर्यातगरी वैदेशिक घाटालाई साँघुरो पार्न मद्दत पुग्ने छ ।
डा. अनिल पोख्रेल
संयोजक
कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके