नेपालगन्ज : बाँकेको खजुरामा जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा निरन्तर दुध दिने कृषकलाई पालिकाले प्रोत्साहन स्वरुप रकम प्रदान गरेको छ । खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१को कार्यक्रम अन्तरर्गत कृषकहरुलाई आर्थिक वर्ष २०७९÷०८० को दुध लिटर उत्पादन तथा कारोबारका आधारमा प्रति लिटर २ रुपैया अनुदान रकम बुधबार वितरण गरिएको हो ।
सहकारीमा आवद्ध ४५० सदस्यमध्य निरन्तर दुध ल्याउने र गाउँपालिकाले दिएको मापदण्ड पुरा गरेका १४४ कृषकहरुलाई रकम प्रदान गरिएको थियो । जनता दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भिम बहादुर बरुवालको अध्यक्षतामा भएको अनुदान रकम वितरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले कृषकहरुलाई नियमित दुध उत्पादन गर्न हौसला स्वरुप पुरस्कार प्रदान गरिएको बताए । अझै दुध उत्पादनमा जोड दिन कृषकहरुलाई अध्यक्ष विकले अनुरोध गरे । जसले उत्पादन गर्छ उसले पुरस्कारको भागिदार हुन्छ । खजुरालाई दुधमा आत्मनिभर बनाउन यो कार्यक्रम प्रभावकारी देखिएको अध्यक्ष विकले बताए । जुन बेला बजारमा दुध विक्रि नभएर फिर्ता गर्नुपर्ने अवस्थामा पनि जनता दुग्ध उत्पादक सहकारीले कृषकका दुध खरिद गरि कृषकलाई हौसला दिएको भन्दै सहकारीको कार्य प्रति प्रशंसा गरे ।
कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पालिकाले कृषिलाई प्राथमिकता दिदै आएको बताईन । उपाध्यक्ष मल्लले किसानहरुलाई व्यवसायिक बन्न र आर्थिक आम्दानीको बाटो अंगाल्न अनुरोध गरिन । उनले पालिकाले कृषिमा सम्भाव्यता अध्ययन गरि नयाँ कार्यक्रमहरु ल्याइरहेको उल्लेख गरिन । खजुरा गाउँपालिका वडा नमबर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले पालिका सगैं वडाले पनि किसानमैत्रि कार्यक्रमलाई जोड दिएको उल्लेख गरे ।
किसानको आर्थिक स्तरलाई उकास्न वडाले कार्यक्रम ल्याएको जानकारी गराए । सहकारीले बार्षिक १२ सय लिटर बढि दुध ल्याउने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण गरेको व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए ।