नेपालको समग्र आर्थिक, सामाजिक तथा कृषि क्षेत्रमा कोसेबालीले महत्वपूर्ण स्थान ओगटेको छ । मुख्यतयाः दाल–भात–तरकारी अधिकांस नेपालीहरुको मुख्य आहारा रहेको र नेपालीले मनाउने कुनैनकुनै चाडपर्वमा कोसेबालीहरुको परिकार अत्यावश्यक भएको हुँदा योबालीलाई सामाजिक महत्वको बाली पनि भन्ने गरिन्छ । कृषि तथा पशु विकास मन्त्रालयले प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा कोसेबालीहरु मध्य मसुरोबाली (६१.८ प्रतिशतल) उत्पादन तथा क्षेत्रफलकै आधारमा पहिलो स्थान पर्दछ भने खेसरीबाली (२.९ प्रतिशतल उत्पादन) अन्तिम स्थानमा छ । आर्थीक वर्ष २०७८/७९ मा समग्र कोसेबालीहरुको उत्पादन जम्मा ४०८,३७१ मेट्रिक टन देखिन्छ भने उत्पादकत्व १.२२ मेट्रिक टन प्रति हेक्टर रहेको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा २.८३ प्रतिशतले कोसेबालीहरुको उत्पादन बढेको छ । त्यसैगरी कोसेबालीहरुले ओगटेको क्षेत्रमध्य सबैभन्दा बढी मसुरोले (५९ प्रतिशतल) ओगटेको देखिन्छ भने त्यसपछि क्रमशः मास, भटमास, अरहर, गहत, खेसरी र चना बालीहरुले ओगटेका छन् । बूँदागतरुपमा कोसेबालीको महत्व निम्न अनुसार उल्लेख गर्न सक्दछौ ।
खाध्य तथा पोषण शुरक्षा
समग्र राष्ट्रको उन्नतीको लागि राष्ट्रका नागरिकहरु स्वस्थ रहनु पहिलो आधारभूत कुरा हो । हामीले प्रयाप्त रुपमा कोसेबालीहरुको उत्पादन बढाएर मात्र खाध्य तथा पोषण शुरक्षा कायम गर्न सक्दछौं जुन हाम्रो सन्धर्भमा खाध्य तथा पोषण शुरक्षाको लागि एकमात्र उपाएहुन आउँछ । कोसेबाली प्रोटिन तथा मानव शरीरलाई चाहिने अन्य खनिज पदार्थहरुको सस्तो श्रोत भएको हुँदा हाम्रो जस्तो गरिव (MPI: 28.6%) अत्यन्त न्यून आय (PCI:1091.9$) भएको मुलुक, अझ त्यसमापनि देशको कूल ग्राहस्त उत्पादनको २ देखि ३ प्रतिशत पोषण शुरक्षाको लागि खर्चिनु पर्ने अवस्था र देशमा पोषण शुरक्षा भएमा मात्रपनि २ देखि ११ प्रतिशतल सम्म कूल ग्राहस्त उत्पादन बढाउन सकिने अवस्थामा यो बालीलाई अत्यन्त महत्वपूर्ण बालीको रुपमा लिन सकिन्छ । नेपालमा सालाना खाध्य–पोषणमा अशुरक्षित भएको व्यक्तिले मात्रै आफ्नो आम्दानीको २२ प्रतिशत रकम खर्चिनु पर्ने अवस्था छ । विश्व खाध्य शुरक्षाको आँकडालाई आधार मान्ने हो भने पनि नेपालको कूल जनसंख्याको करिव १६ प्रतिशतल (४.६ मिलियन) जनसंख्या खाध्य शुरक्षाको जोखिमा रहेका छन्, जसमा करिव २० प्रतिशत जति आंशिकरुपमा, २२ प्रतिशत जति मध्यमरुपमा र १० प्रतिशत जति अत्यन्त जोखिम अवस्थामा रहेका छन् । त्यसैगरी करीव ४०% बालबालिकाहरु खाध्य तथा पोषणमा अशुरक्षित अवस्थामा रहेका देखिन्छन । करिव १७% महिलाहरु गर्भिणी अवस्थामा अवार्चीन रुपमा पोषणको हिसाबले अशुरक्षित अवस्थामा रहेको सन्दर्भमा घनिभुत रुपमा सुक्ष्म–पोषण तत्वहरु जस्तैः फलाम, जिंक, क्याल्सियम, एमिनोएसिड, लाइसिन, सेलेनियम, लिनोलिक एसिड, पाल्माटिक एसिड, भिटामिन, आदि बढी भएका कोसेबलीहरुको उत्पादन र उपभोग बढाउनु पर्ने देखिन्छ । कोसेबाली अनुसन्धान कार्यक्रम, खजुराम, बाँकेले त्यसै सुक्ष्म–पोषण तत्वहरु बढी भएका बायोफोर्टीफाईड मसुरोका जातहरु उत्पादनको लागि सिफारिस गरेको छ ।
पशुपन्छीहरुको लागि पोषिलो आहार
पशुपालन व्यवसायमा पोषिलो आहार व्यस्थापनले मुख्य भूमिका खेलेको हुन्छ । अधिकांश नेपाली पशुपालन व्यवसायमा कृषिका उप उत्पादनहरु जस्तैः भुस, पराल, स्याउलार अन्य घास तथा डाले घाँसमा आधारित छन् । मानव समुदायको लागि मात्र नभएर पशुपन्छीहरुको लागि पनि कोसेबालीलाई एउटा पोषिलो आहारको रुपमा लिन सकिन्छ । कोसेबाली पर्यान्त यसबाट खेर जाने बस्तु वा यसको उप पदार्थहरु जस्तैः यसको भुस तथा खेर फालिने दानाहरुलाई पशुपन्छीहरुको आहारको रुपमा प्रयोग गर्न सके उनीहरुलाई खुवाउने अन्य आहारा भन्दा उनीहरुलाई चाहिने पौष्टिक तत्वहरु जस्तैः कार्बोहाइड्रेड, प्रोटिन तथा अन्य खनिजतत्वहरुको आपूर्ति सहज ढंगले गर्न सकिन्छ ।
खेतीयोग्य बाँझो जमिनको सदुपयोग
नेपालमा खतीयोग्य जमिनको करिव २५% जमिन जति अझै बाँझो अवस्थामा रहेको छ । मुख्यतः सिँचाइको अभाव, बसाइँसराइ, बढदो लागतले गर्दा कृषकहरूको नै कृषि पेसाप्रति आकर्षण घट्दै जानु तथा युवाहरू विदेश पलायनले गर्दा बाँझो खेतीयोग्य जमिनको क्षेत्र बर्सेनि बढ्दै गएको छ । अन्य खाध्यान्नबालीहरु भन्दा कोसेबालीलाई कम पानी चाहिने, रुखो तथा पाखो जमिनमा पनि खेती गर्न सकिने र न्यून उत्पादन लागतले गर्दा उक्त बाँझो जमिनमा कोसेबालीको क्षेत्र बढाई प्रसस्त लाभ लिन सकिने देखिन्छ ।
माटोको गुणस्तर तथा उर्वाराशाक्तिमा सुधार
माटोको गुणस्तर तथा उर्वारा शक्तिमा सुधार गर्नको लागि बाली प्रणालीमा कोसेबालीको प्रयोग अपरिहार्य छ । बाली चक्र वा प्रणालीमा कोसेबालीहरुको प्रयोग गर्दा माटोको अर्गानिक कार्वन संचितिकरणमा पनि वृद्धि हुने गर्दछ । खाध्यान्न बालीहरुको उत्पादन वृद्धिको लागि रासायनिक मलको अन्धाधुन्ध रुपमा बढदो प्रयोगले माटोको गुणस्तर तथा उर्वाराशक्तिमा ह्रास आइरहेको छ । यसले गर्दा बर्षेनी रासायनिक मल प्रयोगको मात्रा बढ्दै गैराखेको छ । कोसेबालीहरुका पातपतिंगर तथा बाली प्रयान्त खेरजाने बस्तुहरु माटोमा कुहिएर मात्र नभई यिनीहरुको जराले नाइट्रोजन स्थिरिकरण गर्ने क्षमताले गर्दा माटोको उर्वाराशक्तिमा सुधार हुने गर्दछ । कोसेबालीले वायुमण्डलमा भएको नाइट्रोजनलाई सुक्ष्म ब्याक्टेरियाको सहयोगमा आफ्नो जरामा जम्मा गर्ने र प्रयोग गर्ने क्षमतालाई नाइट्रोजन स्थिरीकरण क्षमता भनिन्छ ।
कोसेबालीले कति नाइट्रोजन स्थिरीकरण गर्छ भन्ने कुरा बाली, जात, माटोको उर्वराशक्ति, माटोको पी.एच. मान, तापक्रम, चिस्यान, सुक्ष्म जीवाणुको संख्या, आदिमा भर पर्ने गर्दछ । साधारणतया मसुरोको ८० देखि ११५, चनाले ८०–१०५, भटमासले ६० देखि १७०, सिमिले ४० देखि ८५, बोडीले ७५ देखि ३५०, मुंगले ६० देखि ३४०, गहतले ४० देखि ५५, केराउले ५० देखि ७५ र अरहरले १६८ देखि २८० किलो प्रति हेक्टर सम्म नाइट्रोजन स्थिरीकरण गर्ने क्षमता हुन्छ । कोसेबालीको जरालेले १०० किलो नाइट्रोजन स्थिरीकरण गर्नु भनेको करिव २१७ किलो युरिया मल माटोमा मिसाउनु हो । त्यसैगरी कोसेबाली जस्तैः अरहरको जरा करिव १ देखि १.५ मिटर गहिराइमा पुग्ने भएकोले जमिन मुनिको शुक्ष्म खनिज तत्वहरु शोषण गरि जमिनको सतहमा ल्याइदिने हुँदा त्यसपछि लगाइने बालीलाई उपलब्ध गराउनमा सहयोग पुग्दछ । साथै, धान–गहुँ बाली प्रणालीमा बसन्ते मास, मुंग र बाडी लगाएर १ देखि २ पटक सम्म टिपी तिनीहरुको बोटलाई हरियो मलको रुपमा प्रयोग गर्दा धानमा प्रयोग गरिने रासायनिक मलखादको मात्रालाई आधाले कम गर्न सकिन्छ ।
बाली सघनातामा वृद्धि
जमिनको समुचित प्रयोग र त्यसबाट प्रसस्त फाइदा लिनको लागि बाली सघनता बढाउन अति आवश्यक छ । अझ त्यसमा पनि देशमा वर्षेनी २ प्रतिशत जतिले खेती योग्य उर्वर भुमि घट्दै जानुले यसको विकल्प देखिदैन । अन्यबालीको तुलनामा कोसेबालीहरु जस्तैः मुंग, मास र बोडी अत्यन्त छोटो समयमा (६० देखि ८० दिन) बाली टिप्नको लागि तयार हुने भएकाले खाध्यान्न बाली प्रणालीमा घुसाउन सकेमा बाली सघनातामा वृद्धि गर्न सकिने देखिन्छ । त्यसैगरी मसुरोलाई धनमा घुसुवाबालीको रुपमा, चना वा मसुरोलाई तोरीसंग मिश्रित बालीको रुपमा, भटमास वा सिमि वा बोडी वा मस्याङलाई मकै संग मिश्रित वा अन्तरबालीको रुपमा र धानखेतको आलिमा भटमास वा मास वा अरहर रोपेर बाली सघनातामा वृद्धि र प्रति जग्गा किसानहरुको आम्दानि बढाउन सकिन्छ ।
वायुमण्डलमा हरितगृह ग्यास उत्सर्गनमा कमि
विश्वको वायुमण्डलमा हरितगृह ग्यासको वढ्दो मात्राले शृजित हुने यसका नकारात्मक पक्षले विश्वलाई चिन्तित तुल्याएको छ । अझ त्यसमापनि नेपाल जस्तो कम आय र कृषिमा आश्रित जनसंख्या भएको मुलुकका लागि यो चुतौतिको विषय बनेको छ । कृषि क्षेत्रमा बढदो यान्त्रिकरण, रासायनिक मल तथा विषादीको प्रयोगले हरितगृह ग्यास उत्सर्गनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विश्वमा मात्रै करिव १४ देखि १७ प्रतिशत सम्म हरितगृह ग्यास उत्सर्गनमा कृषि क्षेत्रको योगदान देखिन्छ भने नेपालको हकमा सन् २०९० को तुलनामा सन् २०१४ मा मात्रै ४० प्रतिशतले कृषि क्षेत्रबाट हरितगृह ग्यास उत्सर्गनमा वृद्धि भएको एक रिपोर्टले जनाउँदछ ।
कोसेबालीहरुलाई रासायनिक मलको प्रयोग नगर्दा पनि हुने तर गर्नु पर्ने अवस्थामा अन्यबालीहरुको तुलनामा अत्यन्त कम गर्नु पर्ने अवस्था, कोसेबाली पछी अन्य बाली लगाउँदा कम मलको प्रयोग र धेरै खनजोत तथा सिंचाई गर्नु नपर्ने कारणले गर्दा कोसीबालीहरुको खेती वा बाली प्रणालीबाट हरितगृह ग्यास उत्सर्गनमा कमि ल्याउन र वातारणलाई स्वस्थ राख्न सकिन्छ । एक अध्यनका अनुसार युरोपमा मात्र बाली चक्रमा कोसेबालीको प्रयोग गर्दा कार्वन डाईअक्साईड उत्सर्गनको मात्रा २७७ किलो प्रति हेक्टरका दरले घटेको देखिन्छ ।
आर्थिक वृद्धि
नेपालको कूल जनसंख्याको करिव ६० प्रतिशन जनसंख्या कृषि पेशामा संलग्न र कूल ग्राह्स्त उत्पादनको करिव २४ प्रतिशत कृषि तथा वन क्षेत्रले ओगटेको अवस्थामा कृषि क्षेत्रको विकास नै मुलुकको सम्वृद्धिको आधार स्तम्भ वा आर्थिक विकासको बलियो पक्ष हो नेपालको कूल कृषि बस्तुहरुको आयात र निर्यात अवस्थालाई हेर्ने हो भने निर्यात (करिव १ खर्व ८ अर्व) भन्दा आयात २.८ गुणाले बढी छ र अत्यन्त न्यून निर्यातहुने कोसेबालीको अवस्थामा यो झन जटिल छ । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न कोसेबालीहरुको आयातले नेपालको कूल आयातमा ५.६ प्रतिशन हिस्सा ओगटेको छ । यस्तो अवस्थामा राज्यको नीति तथा कार्यक्रमले कोसेबालीको जस्तैः कोसेबाली अनुसन्धान कार्यक्रमले विकास गरेका जात तथा प्रविधिहरुको विस्तारमा सहयोग पुर्याउन सके मुलुकको आर्थिक तथा किसानहरुको जीवनस्तरमा सुधार हुनुको साथै वैदेशिक ब्यापार घाटा पनि कम हुने सम्भावना देखिन्छ ।
जैविक विविधता संरक्षण
कोसेबाली परिवार करिव ८ सय जेनेरा र २० हजार इस्पेसिस रहेको तेस्रो ठुलो फुलफुल्ने बिरुवा हो । स्थानीय तथा रैथाने कोसेबालीहरु पोषणयुक्त, स्वादिला तथा सामाजिक महत्वका भएकाले यिनीहरुलाई उच्च मुल्य बालीकोरुपमा पनि लिन सकिन्छ । यसरि यिबालीहरुको महत्वले गर्दा यिनीहरुको संरक्षणमा ठुलो टेवा पुग्नगई जैविक विविधता संरक्षणमा मद्दत पुगेको छ ।
चित्रः कोसेबाली खेती प्रणालीको महत्व
डा. अनिल पोख्रेल
संयोजक
कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके