गणेश राई, खजुरा : बाँकेको खजुरामा तिन आमाहरुले ज्यान गुमाउन परेको छ । चालु आर्थिक वर्षमा खजुरा गाउँपालिकाको वडा नम्बर ५ मा २ जना र वडा नम्बर ६ मा १ जना गरि ३ जना गर्भवति तथा सुत्केरी आमाहरुको ज्यान गएको हो ।
खजुरा गाउँपालिकाको आयोजनामा पालिका स्तरिय मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिक्रिया कार्यक्रममा वडा नम्बर ५ मा गर्भपतनका कारण अत्याधिक रत्तश्राप हुँदा दुई आमाले ज्यान गुमाएको र वडा नम्बर ६ मा सुत्केरी भएपछि अस्पतालमा ज्यान गुमाउन परेको स्वास्थ्य शाखाका उप संयोजक लक्ष्मी केसीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख थियो । गर्भवतीको उचित स्याहार सुसार हुन नसक्दा ति आमाहरुको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
खजुरामा हरेक मातृ तथा पेरिनेटल मृत्युलाई पहिचान गर्दै घटाउँदै लैजाने उदेश्य पालिकाको रहेपनि उक्त कार्यमा पालिका असफल देखिएको छ । गत आर्थिक वर्षमा खजुरामा तिन महिलाकै ज्यान गएको थियो । चालु आर्थिक वर्षमा गत वर्षको अवस्था सुधार हुनुपर्नेमा त्यस्तो नभएको पाइएको हो ।
यस वर्ष पनि ३ जना आमाले बच्चा जन्माउने प्रक्रियामा ज्यान गुमाउन परेको प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले बताए । अध्यक्ष विकले खजुरामा आमाहरुले ज्यान गुमाउने अवस्थालाई न्युनिकरण गर्न वर्थिङ्क सेन्टरहरुको अवस्था सुधार गरिने प्रतिवद्धता जनाए । उनले गर्भवती आमाहरुको स्वास्थ्यको जिम्मेवारी राज्यको भएकाले खजुरा जस्तो सुविधायुक्त स्थानमा मातृ मृत्युदर नघट्नु गम्भिर विषय बनेको बताए । अध्यक्ष विकले स्वास्थ्कर्मिहरुलाई पालिकाले दिने सेवा सुविधामा कुनै कमि हुन नदिने तर मातृ मृत्युदर अर्को वर्ष सुन्यमा झार्न काम गर्न निर्देशन दिए ।
कार्यक्रममा वडा नम्बर तिनका वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले आगामि आर्थिक वर्षमा वडाको वर्थिङ्क सेन्टरमा सुत्केरी हुने आमाहरुका लागि पोषणको कुनै कमि हुन नदिने बताए । कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मि, स्वास्थ्य स्वय सेविका लगाएतको उपस्थिती रहेको थियो ।