
गुल्मी : गुल्मीको ईस्मा गाउँपालिका १ की बेसहारा एक महिलालाई समाजसेवी लिल बहादुर थापाले खाद्यान्न लगायतका सहयोग सामाग्री प्रदान गर्नुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीको क्रममा संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी थापाले एकल जीवन बिताईरहनुभएकी बेसहारा हिरा मुखियालाई लत्ताकपडा र झण्डै ४ महिनालाई पुग्ने सम्पूर्ण खाद्यान्न सहयोग प्रदान गर्नुभएको हो ।
मुखियाका श्रीमान छैनन् । बुढेसकालमा सहारा चाहिने बेला छोराको पनि केही समय अगाडी मृत्यु भएको थियो । सानो पडीमा दैनिक गर्जो टार्न समेत मुस्किल भईरहेको अवस्थाका बारेमा जिटिभि नेपालमा समाचार सामाग्री प्रशारण भएको थियो । उक्त सामाग्री प्रशारण भएपश्चात समाजसेवी थापाले पठाउनुभएको राहत सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले मुखियाको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
सहयोग सामाग्री ग्रहण गर्दै मुखियाले कसैको सहारा नपाएको बेला विदेशमा बसेर आफुले कमाएको पैसाले सहयोग गरेको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
समाजसेवी लिल बहादुर थापाले अमेरीकामा आफुले श्रम गरेर कमाएको पैसा नेपालका दिन दुःखी असहाय र गरिब तथा आर्थिक अभावमा रहेका परिवारलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ । त्यति मात्रै होईन् उहाँले हालसम्म आफ्नै खर्चमा ४ जना घरवार विहिन परिवारका लागि घर समेत निर्माण गरिदिनुभएको छ ।