नरैनापुरका प्रसव फिस्टुलाका १० विरामीको उपचार

नरैनापुर : फिस्टुलाको विश्वब्यापी रोकथामका लागि फिस्टुला हुने कारणहरुको अन्त्य गरौं भन्ने नारा सहित २३ मे २०२४ को अवसर पारेर बाँकेको नरैनापुरमा सरोकारवाला निकायहरुसंग प्रसव फिस्टुला सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

साईनिङ्ग अस्पताल आई एन एफ नेपाल सुर्खेतमा रहेको फिस्टुला उपचार केन्द्रको आयोजना तथा नरैनापुर गाउँपालिकाको सम्योजनमा भएको कार्यक्रममा प्रसव फिस्टुला भनेको के हो ? प्रसव फिस्टुलाका लक्षणहरु केके हुन् ? फिस्टुला के कारणले हुन्छ ? फिस्टुला बाट कसरी बच्न सकिन्छ ? प्रसव फिस्टुलाको उपचार लगाएतका विषयमा सहभागिहरुलाई अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको १० जना विरामी महिलाहरुको सफल उपचार गर्न सफल फिस्टुला उपचार केन्द्रलाई धन्यबाद दिए । गाउँमा अझै धेरै महिलाहरुमा यस किसिमको समस्या रहेकाले उपचारमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

फिस्टुला उपचार केन्द्र सुर्खेतले २००९ देखि २०१८ सम्म शिविर मार्फत उपचार सेवा प्रदान गर्दै आइरहेको थियो । शिविरमार्फत २६४ जनाको अप्रेसन गरिएको फिस्टुला उपचार केन्द्रका प्रमुख कान्त प्रसाद सुवेदीले जानकारी दिए । २०१८ देखि अस्पताल नै स्थापना गरि उपचार सेवा दिइरहेको प्रमुख सुवेदीले बताए । अस्पताल स्थापना गरेपछि २८६ जनाको अप्रेसन गरिएको सुवेदीले जनाए । यस अवधिमा फिस्टुला उपचार केन्द्रले ३० हजार बढिलाई जनचेतनामुलक सन्देश प्रवाह गरेको छ । प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र सुर्खेतमा निःशुल्क हुने र विरामिलाई आउने जाने यातायातका साथै खान खर्च सबै अस्पतालले बेहोर्ने फिस्टुला आउटरिच कोर्डिनेटर कान्ति शर्माले जानकारी दिइन ।

फिस्टुला उपचार केन्द्रका फिस्टुला सर्जन डा. शेर्ली हेउडले प्रसव फिस्टुलालाई धेरै विरामिले लुकाउने गरेको भन्र्दै यसलाई नलुकाएर समयमै उपचार गरे निको हुने बताइन । फिस्टुला सर्जन डा. शेर्लीले पछिल्ला दिनमा महिलादिदि बहिनीहरुले प्रसव फिस्टुलाको उपचारमा चासो देखाउन थालेकाले यसको समाधान गर्न सहज हुदै आएको उल्लेख गरिन । उनले नरैनापुर बाट १० जनाले उपचार गराएकोले यसको जनचेनताको लागि आफु नरैनापुर आएको जनाइन ।

कार्यक्रममा नरैनापुरका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका प्रतिनिधि, स्वास्थ्य स्वय सेविका, उपचार गराएर ठिक भैसकेका विरामीहरु,पत्रकार लगाएतको उपस्थिती रहेको फिस्टुला नर्स तथा टेर्नर डिल कुमारी गिरलिे जानकारी दिइन ।

प्रतिक्रिया