नेपालगन्ज, २८ वैशाख : बाजुराकी जन्मजात खुट्टा नचल्ने धन बमको जन्मजात आँखा नदेख्ने काठमाडौंमा रहेका मुगुका रामकृष्ण साउँदसँग टेलिफोन सम्पर्कबाट परिचय भयो । टेलिफोनमै कुराकानी हुँदाहुँदै प्रेम बस्यो । एकवर्षको टेलिफोन अफेयरपछि विहे गर्ने सल्लाहमा २६ वर्षीया धन बाजुराबाट नेपालगन्ज आइन् । बहिनी ज्वाईंसँग खर्च मागेर काठमाडौं पुगिन् । र उनीहरुले विहे गरे ।
काठमाडौँमा डुल्दै अगरबत्ती बेचेर गुजारा गर्दै आएका रामकृष्णप्रति हिड्नै नसक्ने धनले देखाएको समर्पण र गाउँमा सबैले हेला गरेकी धनलाई रामकृष्णले देखाएको प्रेमले मात्रै काठमाडौंमा उनीहरुको जीवन धानिएन । त्यसैमाथि धन गर्भवती भइन् । उनीहरु फेरि नेपालगन्ज आइपुगे, धनकी बहिनीको शरणमा । बसपार्कभित्र सानो सटरमा नास्ता पसल सन्चालन गर्दै आएकी धनकी बहिनीले छेउछाउमा कोठा खोजिन् । तर भुइँतलामा कोठा भेटिएन । अन्ततः बसपार्क छेउमै एक घरको दोस्रो त्ललामा कोठा भेटियो । अहिले ६ महिनाकी गर्भवती धनलाई दोस्रो तल्लामा रहेको कोठामा उक्लिन र झर्नु महाभारत भइरहेको छ ।
सडक कच्ची छ । भएको ह्विलचियर बिग्रिएको छ । सडकमा धन आँखा बन्छिन्, रामृकष्ण जबरजस्ती बिग्रेको ह्विलचेयर धकेल्दै अस्पताल लैजाने र बाहिर घुमाउन लैजान्छन् । ठाउँ ठाउँमा सवारी साधनसँग ठोक्किनुपर्छ । मानिसहरुको गाली र नमिठा वचन सुन्नु उनीहरुको दैनिकीको एक पाटो हो ।
बहिनीको नास्ता पसल चल्दैन । बसपार्कबाट यात्रु चढाउनुपर्ने र झार्नुपर्ने सवारी साधनहरु सडकमै त्यो काम गर्छन् । बसपार्कभित्र मान्छे पस्दैनन् । उनको नास्ता पसल कसरी चलोस् । त्यसैमाथि आफू, श्रीमान् , कान्छी बहिनीसहितको परिवारलाई पाल्नु उनका लागि झन् सकस छ । धनहरु बसेको कोठाको भाडा तिर्न सकिरहेकी छैनन् उनले । पसल नचलेपछि भारत जाने सोच बनाइरहेकी छन् ।
खबरगन्जले धन र रामकृष्णको यो संघर्षपूणर् र पीडादायी अवस्थाबारे भिडिो सामग्री बनाएपछि अमेरिकामा रहेका लिलबहादुर थापाको मन सदाझै पग्लियो । उनले धन र रामकृष्णका लागि खाद्यान्न र घरायसी अत्यावश्यक चिजहरु खरिद गरिदिएका छन् । खबरगन्जले शुक्रबार उक्त सामग्री धन र रामकृष्णलाई हस्तान्तरण गरेको छ । एक दिनमै आफूहरुका लागि ६ महिना पुग्ने रासनपानी उपलब्ध भएपछि धन भावुक भइन् । आँशु झार्दै उनले लिलबहादुरलाई आभार व्यक्त गरिन् । भनिन्, अब त मर्नूबाहेक विकल्प् छैन सोचेकी थिएँ । यो सहयोगले ममा बाँच्ने जाँगर बलायो । साथै उनीहरुलाई खजुराका विवेक प्रताप मल्ल र नेपालगन्जका निरुपमा गिरीले पनि सहयोग गरेका छन् ।
अहिले आफूहरुलाई बस्नका लागि सहज कोठा र उपचारत तथा चेकजाँचका लागि सहायता आवश्यक रहेको धन बताउँछिन् । खबरगन्जले त्यसका लागि पनि पहल गर्ने जनाएको छ ।