महेन्द्र पुस्तकालय छानबिन समितिले बुझायो प्रतिवेदन

चैत्रभित्रै परीणाममा पुग्ने जिल्ला समन्वय समितिको भनाई

निशु जोशी, चैत्र ८, नेपालगन्ज : नेपालगन्जस्थित महेन्द्र पुस्ककालयमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले एक महिनापछि प्रतिवेदन बुझाएको छ । व्यवसायी अजय टण्डनको संयोजकत्वमा फागुन ९ गते गठित पाँच सदस्यीय समितिले मंगलबार जिल्ला समन्वय समिति बाँकेका संयोजक एवं जिल्ला पुस्तकालय समन्वय समितका संयोजक अजवय श्रीवास्तवलाई पुस्तकालयको अध्ययन, अनुसन्धान गरी प्रतिवेदन हस्तान्तरण गरेको हो ।

देशकै पुरानो मध्येको एक यो पुस्तकालयमा लामो समयदेखि कार्य समिति विहीन अवस्थामा थियो । पुस्तकालय लामो समयदेखि बन्द अवस्थामा रहेको छ । पुस्तक र आर्थिक हिसाबकिताब दुरुस्त नभएकोले यसबारे छानविन गर्न टण्डनको संयोजकत्वमा प्रकाश आचार्य, विरेन्द्र यादव, गणेशा कार्की र सुर्यलाल यादव सदस्य रहने गरी समिति गठन गरेको थियो ।

उक्त समितिले सुरुमा ७ दिनको समय पाएको थियो । तर, विविध कारण देखाउँदै निर्धारित समयमा प्रतिवेदन सार्वजनिक गर्न नसकिएकाले एक महिनापछि मंगलबार प्रतिवेदन वुझाएको समितिका सदस्य प्रकाश आचार्यले बताए ।

प्रतिवेदनमा २०४४ सालयता नै नयाँ कार्यसमिति गठन नभई ३४ वर्षदेखि एकै समितिले काम गरिरहेको उल्लेख छ । हाल अध्यक्ष टण्डन र पुस्तकाध्यक्ष चौवे पनि वृद्ध र अस्वस्थ भएका कारण पुस्तकालय लामो समयदेखि बन्द रहेको र त्यसकाख कारण हजारौँ पाठकहरु पुस्तकबाट बन्चित रहको पनि प्रतिवदेनले भनेको छ ।

प्रतिवेदनमा पुस्तकालयमा भएका पुस्तकहरुको अभिलेख हेर्न नपाइएको, पुस्तकालयको खाताबाट अध्यक्ष कन्हैयालाल टण्डन र पुस्तकाध्यक्ष सच्चिदानन्द चौवेले चार लाख ७१ हजार रकम झिकेको तर कुन प्रयोजनका लागि झिकेको हो सोको अभिलेख हेर्न नपाइएको, पुस्तकालयको नियमित लेखा परीक्षण भएको नपाइएको र अडिट रिपोर्ट हेर्न नपाइएको उल्लेख गरिएको छ । पुस्तकाध्यक्षले भने भवन निर्माणका लागि र आफ्नो उपचारका लागि पारिश्रमिक स्वरुप झिकेको बताएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पुस्तकालयका केही सटहरुबाट नियमित भाडा नउठेको, भाडादर न्यून रहेको, उठेको भाडा रकम कर्मचारीको पारिश्रमिक, बिजुली, पानी, टेलिफोन महसुल आदिमा खर्च गरेको पुस्तकाध्यक्षले बताए पनि आम्दानी र खर्चको अभिलेख हेर्न नपाइएको पनि उल्लेख गरेको छ । यद्धपि पुस्तकालयको बैंक खातामा अझै ७ लाख ५९ हजार ६ सय ५५ रुपैयाँ मौज्दात रहेको पनि प्रतिवेदनमा उल्लेख गरीएको छ ।

प्रतिवेदनमा अब पुस्तकालयलाई समूचित व्यवस्थापनसहित सुसन्चालन गर्नका लागि जिल्ला पुस्तकालय समन्वय समितिले तदर्थ समिति गठन गरिदिने, तदर्थ समितिले पुस्तकालयको आर्थिक पक्षको छानबिन र अभिलेखिकरण गर्ने, विधान संशोधन गरी नयाँ विधानअनुसार नयाँ कार्यसमिति चयन गर्ने लगायतका सुझावहरु दिएको छ ।

यसैगरी पुस्तकालयको कोठाहरु वडा नम्बर ८ को कार्यालयले पुस्तकालयको सट्टा अन्य प्रयोजनमा प्रयोग गरेकोले त्यसलाई सुधार गर्नुपर्ने, राजनीतिक उदेश्यले पुस्तकालयका संरचना प्रयोग गर्न बन्द गर्ने, भाडा नतिरेका व्यापारीहरुबाट असुल गर्नुपर्ने लगायतका १२ बुँदे सुझाव प्रतिवेदनले दिएको छ ।

जिल्ला पुस्तकालय समन्वय समितिका संयोजक श्रीवास्तवले प्रतिवेदन बुझ्दै चैत्र मसान्तभित्र परीणाममा पुग्ने बताए । ‘चैत्र मसान्तभित्र एउटा परीणाममा पुग्छ । तपाईहरुको मेहनत खेर जादैँन ।’ उनले भने ‘आजीवन सदस्यहरुबाटै तदर्थ समिति गठन हुन्छ । त्यसपछि साधारण सभा हुन्छ ।’

खोज, अनुसन्धान गरेर प्रतिवेदन तयार भएकोमा खुशी व्यक्त गर्दै उनले फेरी थपे ‘जुनदिन महेन्द्र पुस्तकालय व्यवस्थित हुन्छ, त्यहि दिन तपाईको मेहनत सफल हुन्छ । जे जति मेहनत गर्नुभयो । ह्दयदेखी नै धन्यवाद दिन चाहान्छु ।’

केही दिनमै आजीवन सदस्यहरुलाई बोलाएर तदर्थ समिति निर्माण गर्ने र त्यसपछि उक्त तदर्थ समितिले नै बाँकी काम अघि बढाउँने उनको भनाई छ ।

प्रतिक्रिया