इप्रका धनौली खजुराको नव निर्मित भवन उद्घाटन (फोटो)

खजुरा : इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेको परिसरमा नव निर्मित भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले नव निर्मित भवनको उद्घाटन गरेका हुन ।

जनयुद्धका क्रममा बम विस्फोटबाट ध्वस्त भएको खजुरा स्थित इलाका प्रहरी कार्यालयले शान्ति सम्झौताको १८ वर्ष पछि नयाँ भवन प्राप्त गरेको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कठायतले समाजमा फैलिएको नकारात्मक भावनालाई सकारात्मकतामा रुपान्तरण गर्ने जिम्मेवारी प्रहरीमा आएको बताए । उनले पछिल्लो समय समाजमा नकारात्मकता र निरासा फैलिएको उल्लेख गर्दै प्रहरीले पीडित मैत्री बनेर समाजलाई सकारात्मक भावनामा ल्याउनु पर्ने बताए । जहाँ समाज रहन्छ त्यही प्रहरी हुने बताउँदै उनले नागरिकमा सबै भन्दा पहिलो पुग्ने निकाय नै प्रहरी भएको बताए । जनताको सुझाव अनुसार नै प्रहरीले काम गर्नुपर्नेमा जोड दिए । प्रहरी जतिवेला पनि जुनसुकै ठाउँमा खट्न सक्ने भएकाले समयसापक्ष भएर परिमार्जित हुदैं कार्यसम्पादन गर्न डीआईजी कठायतले डिजिटल अपराधको सामाना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गैरकानुनी काम गर्नेहरुले प्रहरी र प्रशासनलाई फुटाएर लाभ लिन प्रयास गर्ने गरेको भन्दै कसैको बहकावमा नआएर काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे । ‘गैर कानुनी कार्य गर्नेहरुले सीडीओ र एसपीलाई मिलाइसकेका छौ, तपाई पनि मिल्नुस भन्दै लोभ देखाउन सक्छन,’ उनले प्रहरी अधिकारीहरुलाई लक्षित गर्दै भने, ‘अपराधीहरुको प्रयास नै फुट पारेर फाइदा लिने भएकाले सजक बन्नु पर्दछ ।’ ‘जनताले प्रहरीले गर्ने कामको प्रतिफल राम्रो हेर्न चाहेका छन, पोखरेलले भने ‘प्रहरीका चालचलन, गतिविधि, आचरणलाई पनि जनताले नियालीरहेकोले यस तर्फ सचेत हुन आवश्यक छ ।’

उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की लगायतले नयाँ भवनबाट नागरिकले आझै राम्रो सेवा पाउने विश्वास ब्यक्त गरेका थिए । ३ करोड २९ लाख ८३ हजार ८ सय ५८ रुपैया लागतमा तीन तलामा प्रशासनिक भवन, ब्यारेक तथा थुनुवा कक्ष साथै भान्छा, शौचालय र स्नान घर निर्माण भएको प्रहरीले जनाएको छ । कार्यक्रममा समयमा काम सक्ने ठेकेदार कम्पनी अल ईज वेल कन्ट्रक्सन, जग्गादाता, निर्माणमा सहयोग गर्ने समाजसेवी तथा जेहेन्दार प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया