
गुल्मी : बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी बरिष्ठ समाजसेवी लिल बहादुर थापाले बाग्लुङको ढोरपाटन नगरपालिका ७ बोबाङकी बेसहारा एक परिवारमा सहयोग सामाग्री प्रदान गरेका छन । हाल अमेरिका बस्ने लिल बहादुरले बेसहारा ईन्द्रकला थापालाई राहत स्वरुप सामाग्री प्रदान गरेका हुन ।
श्रीमानले छाडेपछि ३ छोरी सहित बेसहारा जीवन बिताईरहेकी थापालाई समाजसेवी थापाले राहत सामाग्री सहयोग गरेका हुन । सामाजिक कार्यमा सधै सहयोगि हात अघि बढाउने समाजसेवी थापाले जिटिभि नेपालबाट प्रसारित समाचार सामाग्री हेरेपश्चात उक्त सहयोग पठाएका हुन । बेसहारा ईन्द्रकला मुटु रोगबाट ग्रसित छिन । राहत सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले ईन्द्रकलाको घरमै पुगेर खाद्यान्न, स्टेशनरी लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।
समाजसेवी थापा मार्फत सहयोग प्राप्त खाद्यान्न सामाग्री ग्रहण गर्दै ईन्द्रकलाले एकल अवस्थामा रोगले ग्रसित भएपश्चात दैनिक जीवन यापन गर्न समेत मुश्किल भईरहेको अवस्थामा सहयोग सामाग्री पठाएर आफुहरुको उद्धार गरेको भन्दै धन्यवाद व्यक्त गरिन । ईन्द्रकलाले आफु मुटुको रोगी र आर्थिक अभावमा उपचार गर्न समेत असमर्थ रहेको भन्दै दैनिक काम गर्न समेत कठिन भएपश्चात छोरीले विद्यालय बिदाको दिनमा मेलापात गएर कमाएर ल्याएको पैसाले गर्जो टार्दै आएको बताइन ।
५७ वर्षीय ईन्द्रकलाका क्रमश : २४, १७ र १० वर्षीय तीन छोरी छन । श्रीमानले पनि नहेरेपछि बेसहारा जीवन बिताईरहेका उनीहरुलाई जेठी छोरीले मेलापात गरेर घरखर्च जेनतेन चलाउँदै आएकी छिन । समाजसेवी थापाले आफुले उक्त परिवारको अवस्थाको बारेमा थाहा पाएपश्चात केही राहत होस भन्ने हेतूले राहत सामाग्री पठाएको बताए ।
समाजसेवी लिल बहादुर थापाले ढोरपाटन नगरपालिकाका विभिन्न ठाउँमा रहेका यस्तै अशक्त, असहाय र विपन्न नागरिकहरुलाई निरन्तर सहयोग गर्दै आएका छन । उनले देशका विभिन्न ठाउँमा बेसहारा नागरिकहरुलाई सहारा प्रदान गर्दै उनीहरुका विभिन्न विपत्तिहरुमा राहत सामाग्री प्रदान गर्दै आएका छन । यस बाहेक उहाँले हालसम्म ४ जना घरबारविहिन व्यक्तिका लागि एकल खर्चमा घर निर्माण गरि हस्तान्तरण समेत गरिसकेका छन ।