संजय आचार्य, बर्दिया : नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश दाङको आयोजनामा एक दिने नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्य तथा स्वास्थ्य कार्यालय बर्दिया र बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा प्रहरी लगायत उनीहरुका परिवारहरुको नि: शुल्क स्वास्थ परिक्षण तथा उपचार गरिएको छ।
सोमवार नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्वास्थ शिविरमा प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक विष्णु प्रसाद न्यौपानेले बताउनु भयो ।
शिविरमा पहिलो स्वास्थ परिक्षण ८१ बर्षिय पूर्व प्रहरी सहायक निरीक्षक राम बहादुर मल्लवाट स्वास्थ परिक्षण गरिएको थियो । स्वास्थ शिविरमा २१४ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत वितरण गरिएको न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरले आफ्नो ब्यक्तिगत, पारिवारिक समय नभनि चौविसै घण्टा डिउटीमा खटिनु पर्ने दायित्व भएकोले प्रहरी कर्मचारी स्वयंले आफ्नो स्वास्थ्य प्रति ख्याल राख्न समय समेत नपाएको र ढिला गरि थाहा हुँदा आफ्नो स्वास्थ्य स्थिती बिग्रि सकेको हुनाले समयमा आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उदेश्यले स्वास्थ्य शिविर संचालन गरिएको बताउनु भयो ।
स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ, कोहलपुर डेण्टल अस्पतालका दाँत रोग विशेषज्ञ, भेरी अस्पतालका छाला रोग विशेषज्ञ, बर्दिया अस्पतालका स्त्री रोग विशेषज्ञ तथा जनरल फिजिशियन र बर्दिया आँखा अस्पताल बर्दियाका आँखा रोग बिशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो ।
कार्यक्रममा वर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोसन कुमार कठायत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक कुबेर कडायत तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत लगायत सरोकार वालाहरुको उपस्तिथी रहेको थियो ।