नवौ डाँफे कप : धम्बोझी र न्यु दर्पणको सहज जित

खजुरा : न्यु डाँफे स्पोर्टस क्लबको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको डि गाउँ स्थित मिनि रंगशालामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा बुधबार धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँले फराकिलो जित हासिल गरेका छन ।

प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल धम्बोझी क्लब नेपालगन्ज र नेपाल प्रहरीको लुम्बिनी गण खजुरा विच भएको थियो । धम्बोझी क्लबले प्रहरीको लुम्बिनी गणलाई शुन्यका विरुद्ध ५ गोल जित निकाल्यो । धम्बोझका तर्फबाट निराजन शाहिले ह्याट्रिक गरे भने भक्त भण्डारी र अशोक केसीले एक एक गोल गरेका थिए । शाहिले खेल शुरुभएको ७, ११ र ५८ मिनेटमा गोलको बर्षा गराए । खेलको ३५ मिनेटमा भक्त भण्डारीले र ६१ मिनेटमा अशोक केसीले थप एक गोल गरेका थिए । धम्बोझी क्लब र प्रहरीको लुम्बिनी गणको खेलमा धम्बोझीकै खेलाडी निराजन शाहि म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै मंगलबार भएको दोस्रो खेलमा न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँले जित हासिल गरेको छ । न्यु दर्पणले जय किसान स्पोर्टस क्लब सैनिकलाई फराकिलो गोल अन्तरले हराएको थियो । दर्पणले शुन्यका विरुद्ध ४ गोल गर्दै जित हासिल गर्यो । न्यु दर्पणका तर्फबाट भुपेन्द्र शाहि(चाइना)ले ह्याट्रिक गरे । थप एक गोल मनिस सुनारले गरेका थिए । खेल शुरु भएको ३, ३२ र ५५ मिनेटमा भुपेन्द्रले गोल गरेका थिए भने ५७ औ मिनेटमा मनिस सुनारले एक गोल गरि जित निकालेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । दोस्रो खेलको म्यान अफ द म्याच न्यु दर्पणका भुपेन्द्र शाहि (चाइना) घोषित भए । दुबै म्यान अफ द म्याच घोषित खेलाडिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे ।

बुधबार देखि समुह ‘ख’ अन्तर्गत रहेका टिमहरुले प्रतिस्पर्दा गरिरहेका छन । खेल संयोजक तिलकविर सुनारका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन । उक्त पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । विहिबार पहिलो खेल रेसिङ्ग साहरा कोहलपुर र एफ सि गौघाट विच हुनेछ भने दोस्रो खेल न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ र सगरमाथा युवा क्लब विच हुने खेल संयोजक सुनारले जनाए ।

प्रतिक्रिया