जयबहादुरको परिवारलाई ६ महिना पुग्ने सामग्री घर आउँदा

नेपालगन्ज : करिब ३२ वर्षको उमेरमा दुवै आँखा नदेख्ने भएपछि खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका जयबहादुरको जीवनका कष्टकर दिन सुरु भए ।

डाक्टरले रक्तचापका कारण आँखाको दृष्टि गुमेको भनेपनि यकिन कारण पत्ता लागेन । उनले परिवार पाल्नका लागि काम पाउन छोडे । जग्गाजमिन नभएका र अरुको जग्गामा बसिरहेका उनीसँग जीविकोपार्जनका विकल्पहरु रहेनन् । त्यसपछि उनले आफ्नै गलाको सहारा लिए । गाउँ गाउँ डुलेर आफ्नो गीत गाउने कलालाई पस्केर मानिसहरुसँग हात पसार्न थाले । तर त्यसरी आफूसहित श्रीमति र दुई सन्तानलाई पाल्नु सजिलो भएन । त्यसैमाथि श्रीमति पनि स्वास्थ्य समस्याले काम गर्न नसक्ने अवस्थामा पुगिन् । माटोले बारेको टिनको छाना भएको घर पनि भुकम्पले हल्लाएपछि र केही दिनअघि रुख खसेर जोखिमपूणर् बनेपछि उनको परिवार पुसको ठिहिर्याउँदो जाडोमा टहरामूनि ओत लागेर रात गुजारिरहेको छ । यस विषयमा खबरगन्जले एक हप्ता अघि भिडियो सामग्री प्रकाशन गरेपछि खजुरा घर भई हाल अमेरिकामा रहेका दानविर लिलबहादुर थापाले जयबहादुरका लागि राहत उपलब्ध गराएका छन् ।

विहीबार एकाबिहानै लिलबहादुरले उपलब्ध गराएको राहत लिएर खबरगन्जको टोली जयबहादुरको घरमा पुग्दा थाहा भयो उनको परिवार रासन र चुल्हो बाल्ने साधन नहुँदा अघिल्लो साँझ भोकै सुतेको रहेछ । जयबहादुरको परिवारको अवस्था हेरेर लिलबहादुरले करिब ६ महिनाका लागि पुग्ने चामलका साथै पिठो, दाल, नुन, तेल, चिउरा, चाउचाउ, सरफ, साबुन, मसला, सेम्पु, अण्डा, छोराहरुका लागि कापि कलम र अन्य खाद्यान्न एवं परिवारका सबै सदस्यलाई पुग्ने बिस्तरा र सिरक उपलब्ध गराएका छन् भने दाउराको पनि व्यवस्था गरिदिएका छन् ।

जयबहादुरका अनुसार घरघर गएर गीत गाउँदै सहयोग माग्दा मानिसहरुको फरक व्यवहार भोग्नुपरिरहेको छ । उनले भनेका थिए, ’मलाई यसरी घरघरै गएर माग्न रहर छैन । खाली हात माग्न जाँदा आफैलाई हप्ठ्यारो लागेर आउँछ । अलिअलि पैसा भइदिए अगरबत्ती हातमा बोकेर भएपनि किन्दिनुस् हजुर भन्थेँ । नभए एउटा डिजे (साउन्ड बक्स र माइक) भइदिए चोकमा बसेर गीत गाउँथे र सहयोग माग्थें ।’ जयबहादुरको ईच्छाअनुसार लिलबहादुरले करिब १० हजार मूल्य पर्ने साउन्ड बक्स र माइक पनि उपलब्ध गराएको खबरगन्ज मिडियाका सन्चालक खगेन्द्र दाहालले बताए ।

अब जयबहादुरले आफूसँग भएको गीत गाउने कला बेचेर भएपनि परिवार पाल्न सकिने आँट पलाएको प्रतिक्रिया दिएका छन् । उनले लिलबहादुरप्रति आभार व्यक्त गर्दै भने, ’उहाँको गुन त कसरी तिरौँला । उहाँको सधैं भलो होस् । पाइला पाइलामा भगवानले साथ दिउन् ।’

खबरगन्ज मिडियाले दुखि पिडितहरुको भिडियो निर्माण गरी उनिहरुको घाउँमा मल्लम लगाउने काम गरिरहेको छ । यस अघि पनि आधा दर्जन घरहरुमा लिल बहादुर थापाको सहयोगमा राहत स्वरुप सहयोगी सामग्री वितरण गरिसकेको दाहालले बताए । परोपकार नै ठुलो धर्म रहेको बताउँदै दाहालले पत्रकारीता मार्फत पनि समाजमा यस किसिमको सेवा गर्न सकिने बताए ।

प्रतिक्रिया