खजुराका किसानलाई ६५ लाख बराबरको कृषि यन्त्र वितरण

खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा कृषकलाई कृषि यन्त्र वितरण गरिएको छ । बि गाउँ स्थित शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका वीच खजुरा क्षेत्रका ४४ किसानलाई पावर टेलर तथा धान काट्ने यन्त्र रिपर वितरण गरिएको हो ।

किसानसंगको लागत सहभागिता करीब ६५ लाख बराबरको कृषि यन्त्र वितरण गरिएको कृषि शाखाले जनाएको छ । जसमा ५० प्रतिशत गाउँपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत छ । यन्त्र वितरण कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले कृषिमा सम्भावना बोकेकोले खजुरालाइ ब्रान्डिगं गर्न सकिने बताए ।

उनले यांत्रिककीकरणमा जोड दिँदै किसानको मागको आधारमा रिपर तथा पावर टेलर किसानलाई ५० प्रतिशत किसानको लागत सहभागितामा वितरण गरिएको जानकारी दिए । उनले दुरुपयोग नहोस् भनेर लागत सहभागिताको प्रावधान राखिएको बताए । ग्रीन सिटीको कार्यक्रम कृषिसंग संबंधित छ भएको बताउँदै अध्यक्ष कक्षपतिले कोभिडले प्रभावित भएकाले अनलाइन तालिम संचालन हुने बताए ।

कार्यक्रममा उपाध्यक्ष एकमाया विकले १ लाख ८० हजार मूल्य बराबर रिपर पावर टेलर अनुदान नसम्झेर आफ्नो पूरै लगानी सोचेर चलाउनु पर्ने बताइन् । उनले उदेश्य अनुरुप यसको सदुपयोग गरि कृषिमा यांत्रिककरण गरिनु पर्नेमा जोड दिइन । कार्यक्रममा वडा नं . २ का अध्यक्ष देवीलाल शर्मा र ३ का अध्यक्ष कान्तुराम गौतमले मेसिनमा मात्र भर नपरेर पशु पालनमा पनि ध्यान दिन आग्रह गरे । खजुराले हरेक वर्ष किसानहरुलाई कृषि यन्त्रहरु वितरण गर्दै आएको छ ।

प्रतिक्रिया