नेपालगन्ज, १७ मंसिर : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीका रामकृष्ण थारुकी श्रीमति लालमोहनी लामो समयदेखि खुट्टाले हिड्न नसक्ने भइसकेकी थिइन । घर बनाउने मिस्त्री सीपले अर्थोपार्जन गर्दै आएका रामकृष्णले श्रीमति अपांग हुँदा पनि तीन छोरोछोरी र एक वृद्ध आमाको लालनपालन राम्रैसँग गरिरहेका थिए । ईट्टाको घर बनाउनका लागि जग हालिसकेका थिए । तर, करिब चारवर्षअघि उनी पनि एक्कासी खुट्टा नचल्ने अवस्थामा पुगे ।
उपचारका लागि भारतको लखनउसम्म गए । तर, उपचार हुन सकेन । अहिले उनी आफूपनि सहारा नभैकन उठ्नसमेत नसक्ने अवस्थामा छन् । श्रीमतिलाई त दिशापिसाब गराउन पनि सहारा चाहिने अवस्था छ । दुई छोरी र एक छोराका पिता रामकृष्णको उक्त परिवारलाई खाना पकाइदिनसमेत रामकृष्णकी ७४ वर्षीया वृद्ध आमाबाहेक अर्को सदस्य छैन । जग हालेको घर अधुरै छ ।
श्रीमति हिडडुल गर्ननसक्ने अवस्थामा परिवारको एकमात्र आधार रहेका रामकृष्ण आफै अपांग बनेयताको दिनचर्या उक्त परिवारका लागि दुसाध्य भइरहेको छ । रामकृष्णले वैशाखीसमेत किन्न नसक्दा लौरोको भरमा खुट्टा सार्ने प्रयास गरिरहेका थिए । रामकृष्णको परिवारमा परेको कहरका विषयमा खबरगन्जले भिडियो सामग्री प्रकाशित गरेपछि खजुरा घर भई हाल अमेरिकामा रहेका लिलबहादुर थापाले खाद्यान्न, लत्ताकपडा र वैसाखीसमेत उपलब्ध गराएका छन । खबरगन्जको टिममार्फत उक्त सामग्री पाएपछि रामकृष्णको परिवारमा थोरै भएपनि खुसीयाली छाएको छ । लिलबहादुरले उपलब्ध गराएको न्यानो कपडा लगाएको सानो छोरालाई हेर्दै रामकृष्णले भने, मसँग त छोराछोरीका लागि जाडोमा शरीर ढाक्ने कपडा किनिदिनसमेत पैसा थिएन । यति सामग्री पाएपछि अहिलेलाई ठूलो राहत भएको छ । चामल पनि कम्तिमा ६ महिना त पुग्छ होला ।

लिलबहादुरले रामकृष्णको परिवारका लागि करिब ४० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका हुन । चामल, दाल, पीठो, नुन, तेल, चिउरा, परिवारका ६ जनाका लागि एक एक जोर न्यानो कपडा, तीनवटा सिरक र अन्य घरायसी सामग्रीहरु खबरगन्ज मिडियाका प्रबन्ध निर्देशक खगेन्द्र दाहालले रामकृष्णको परिवारलाई हस्तान्तरण गरे । आफूहरुले सहयोग आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग जुटोस भनेर गरिरहेको प्रयासमा लिलबहादुरले निरन्तररुपमा साथ दिँदै आएको भन्दै दाहालले आभार व्यक्त गरे । यसअघि पनि लिलबहादुरले खबरगन्जले प्रकाशित गरेको सामग्री हेरेर खजुराकै अन्य दुई परिवारलाई आवश्यक खाद्यान्न र लत्ताकपडा सहयोग गरिसकेका छन । लिलबहादुरले अमेरिकामा श्रम गरेर गरेको कमाईबाट नेपालमा विपन्न र सहाराविहीनहरुलाई आवश्यक सामग्री सहयोग गर्नेदेखि आवाससमेत बनाइदिँदै आएका छन ।

रामकृष्णलाई सन्चारकर्मी विश्वास सुवेदीले पनि साथीभाईहरुमार्फत संकलित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । रामकृष्णले आफूले स्थानीय तहबाट भने कुनैपनि आडभरोसा नपाएको गुनासो गरेका छन । अपांगताको परिचय पत्रका लागि चिकित्सकले क वर्गको दिनु भनेर सिफारिस गर्दापनि गाउँपालिकाले दिन नमानेको गुनासो उनको छ । उनले आफ्नो सम्भाव्य उपचारका लागिसमेत सहयोगको अपेक्षा व्यक्त गरेका छन ।












