
हल संचालकसँग दुईवटा माग राखेर फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्णय यसको निर्माण पक्षले लिएको छ ।
विदेशी र नेपाली फिल्मलाई बराबर शो दिनुपर्ने र फिल्म प्रदर्शनभर निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँट बराबर हुनुपर्ने ‘दिमाग खराब’ टिमको माग छ ।
यसैबीच, अभिनेत्री स्वस्तिमा खड्काले बूकिङ रातै हुँदा पनि आफ्नो फिल्मलाई शो नदिएर हेपिएको बताएकी छन् ।
भक्तपुरस्थित क्यूएफएक्समा बिहीवार ‘दिमाग खराब’ र ‘टाइगर ३’को बूकिङको अवस्था फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘टाइगरको बूकिङ घट्दै जाँदा पनि जबर्जस्ती शो संख्या बढाइएको छ । बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’
उनले आफूहरूको लडाइँ टाइगरसँग नभएको समेत स्पष्ट पारेकी छन् ।
‘हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो ’ उनले लेखेकी छन् ।
निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको हो ।