प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगितामा जोडियो युक्यान


नेपालगन्ज : चैत १० देखि १४ गते सम्म संचालन हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताले आफ्नो तयारीलाई तिव्र पारेको छ । नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।

यसै क्रममा अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिताका लागि सहकार्य समेत भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको अध्यक्ष ठकुरीले जनाउनुभयो । सिटिएलका प्रबन्धनिर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ । नेपाली भलिबलको सर्वाधिक धनराशी पुरस्कार रहेको प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी समेत व्यक्त गर्नुभएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताउनुभयो ।

खेलाडीको हस्पिटालिटीदेखि पोशाकसम्म स्तर वृद्धि गर्दै जाने सोंच अनुरुप यसअघि नै पाँच तारे होटल सेन्ट्रल प्लाजासँग खेलाडीको आवास तथा भोजनका लागि सम्झौता भइसकेको छ । नीजि क्षेत्रको सहभागिताबिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको छ । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केहि समय ढिला हुनगएको अध्यक्ष ठकुरीले खबरगन्जलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा स्थापित गराउने लक्ष्य राखेको अध्यक्ष ठकुरीले जनाउनुभयो । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतको क्लबले सहभागीता जनाउने र आउने दिनमा थप सहभागी टोलीका बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया