
खजुरा २८ साउन : बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्माण गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) को सुक्रवार समुदघाटन हने भएको छ ।
लायन्स क्लब ईन्टरनेश्नल फाउन्डेस र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ नेपालगन्ज सेन्टरले निर्माण गरेको (बिरामी कुरुवा घर ) समुदघाटन तथा भवन हस्तान्तरण लायन्स क्लबका अन्र्तराष्ट्रिय डाईरेक्टर पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले गर्ने लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले बताए । सोही अबसर पारि लायन्स तथा लियो क्लब अफ नेपालगन्ज खजुराको पनि कार्यालय पनि समुदघाटन गरिने भण्डारीले बताए ।
हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) सञ्चालनमा आएपछी क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवाहरुलाई धेरै सहज हुने अध्यक्ष भण्डारीले बताए । अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको अन्तिम चरणमा रहेको छ । लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनको सेवा लिन एक महिनादेखि ९० दिनसम्म पालो पर्खनुपर्ने बाध्यता हुन्छ । हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) सञ्चालमा आएपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने र महंगो पैसा तिर्नुपर्ने बाध्यता टर्नेछ । झण्डै १ करोडा ५० लाखको लागतमा निर्माण् गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) मा १५ वटा कोठा रहेका छन । सबै कोठामा अट्याज बाथरुम र कमन किचन समेत रहेको भण्डारीले बताए । बिरामी र कुरुवाले निशुल्क रुपमा हस्पिक सेन्टर (बिरामी कुरुवा घर )को सेवा लिन सक्ने उनले बताए ।
करिब २७ करोड मुल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्र्न मद्धत गर्दछ । अहिले उक्त मेसिनको सेवा लिन बिरामीहरु भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।
त्यस्तै अस्पतालमा क्यान्सरका बिरामीहरुका लागि बनाइएको पोजिटिभ प्रेसर आइसियु पनि निर्माण गरिएको छ । यो आइसियु पनि संभवतः लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको डा. भट्टराईको दाबी छ । यो आइसियु क्यान्सरका सिकिस्त बिरामीहरुका लागी उपयुक्त हुनेगरी हावा भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन गरिएको आइसियु हो । जुन क्यान्सर बिरामीका लागि बरदान हो । यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको छ ।
अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्स रे सेवा, अनलाइन बाटै अपोन्टमेन्ट र रिपोर्ट दिने सेवा सुरु भएको छ । अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ । २०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी पछि नेपाल सरकारले जिम्मा लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा उल्लेखनिय प्रगति देखिन्छ ।
एक सय बेडको स्वीकृति पाएकोमा हाल ५७ बेडमा सेवा दिइरहेको अस्पतालमा अब सरकारले स्थाई दरबन्दी तय गरी अझै विशेषज्ञ सेवा थप गर्न अति जरुरी छ ।