महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा सम्पन्न

नेपालगन्ज, भदौ : नेपालगन्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ । पुस्तकालयका सचिव मणि अर्यालले प्रस्तुत गरेको कार्ययोजनामा पुस्तकालयलाई थप व्यवस्थित गर्दै लैजाने र बाल कक्ष थप गर्ने कार्यक्रम समावेश छन् । यसैगरी ई पुस्तकालयका लागि आवश्यक सरसाधन व्यवस्थापन भइसकेकोमा अब त्यसलाई सन्चालनमा ल्याउन कर्मचारीलाई तालिमदेखि प्रविधिको व्यवस्थापनसम्मका योजनाहरु पुस्तकालयले तय गरेको छ ।

पुस्तकालयको कार्यसमितिले गएको एक वर्षमा पुस्तकहरुको सफाई गर्ने, रेकर्ड व्यवस्थापन गर्ने, पाठकहरुले पुस्तक पढ्न पाउनेगरी वाचनालय सन्चालनमा ल्याउने, शौचालय, कार्यालय कक्ष, गेट लगायतका संरचना मर्मत सम्भार, रंगरोगन र दराजको व्यवस्थापनलगायतका काम गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८९—८० मा पुस्तकालयले ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी कामहरु सम्पन्न गरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८०—८१ मा ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । यस वर्षमा पुस्तकालयमा बाल कक्ष निर्माण गर्ने, बरण्डा कभर गर्ने र पुस्तकालयमा सिसिटिभी जडान गर्ने मुख्य योजना रहेका पुस्तकालयका अध्यक्ष यादवले जानकारी दिए ।

यसैबीच, साधारणसभाअघि पुस्तकालय दिवसका अवसरमा माधुरी—बद्रीविक्रम व्याख्यानमालाको पहिलो श्रृंखलामा प्रा.डा. भट्टराईले सामाजिक ॅसामाजिक सद्भाव स्थापनामा साहित्यको भूमिका’ विषयमा व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा माधुरी—बद्रिविक्रम सेवा गुठीले भट्टराईलाई १५ हजार राशीको माधुरी बद्रीविक्रम स्मृति सम्मान प्रदान पनि गरेको थियो । साथै कार्यक्रममा महेन्द्र पुस्तकालयको मुखपत्र ॅवाङ्मय जगत्’ को विमोचनसमेत प्रा.डा. भट्टराईले गरे । साधारण सभाको उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, माधुरी बद्रीविक्रम सेवा गुठीका कोषाध्यक्ष किरण थापालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया