के मासुमा आत्मनिर्भर बनेको हो नेपाल? साउनमा छैन आयात

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को लागि ल्याइएको बजेटको एउटा लक्ष्य थियो, आर्थिक वर्ष २०७५/७६ भित्र नेपाललाई मासुमा आत्मनिर्भर बनाउने।

मासु आयातको ग्राफ घट्दै गएको अवस्थामा पौडेलले २०७३ जेठ १५ गते प्रस्तुत गरेको बजेटमा एक वर्षभित्र अण्डा, दुई वर्षभित्र मासु र तीन वर्षभित्र दूधमा आत्मनिर्भर हुने लक्ष्य राखिएको थियो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना भने मासु र पशुपंक्षीको भुवा तथा छालाको आयात शून्य छ। भन्सार वर्गीकरण अनुसार शीर्षक नम्बर दुईमा तयारी मासु र शीर्षक नम्बर ४३ मा पशुपंक्षीको भुवा तथा छाला (खानको लागि प्रयोग नगरिने) आयात गरिन्छ।

साउन महिनामा दुई वटै शीर्षकमा नेपालको अन्तर्राष्ट्रिय कारोबार नै भएको छैन। अर्थात् न आयात भएको छ नत निर्यात। त्यसोत गत वर्ष साउनमा पनि यस्तो आयात निकै न्यून रहेको थियो।

गत साउनमा तयारी मासुको आयात ३२ लाख १८ हजार रूपैयाँको भएको थियो। त्यस्तै, भुवा तथा छालाको आयात दुई लाख १२ हजार रूपैयाँको भएको थियो।

भन्सार विभागले ९७ वटा शीर्षकमा विभाजन गरेर वस्तु आयात निर्यात गर्दै आएकोमा शीर्षक नम्बर ७७ मा कुनै पनि वस्तु राखिएको छैन। यो नम्बरलाई भविष्यका नयाँ वस्तुको लागि राखिएको छ।

अन्य सबै च्याप्टरमा वस्तु वर्गीकरण गरेको छ। साउनमा दुई वटा वर्गमा आयात–निर्यात नै नभएको भन्सार विभागका अधिकारीले बताएका छन्।

हरेक महिनामा मासुको आयात हुने नै गरेको भए पनि साउनमा ब्रेक लागेको छ। आयात नहुनुमा मुख्यतः तीन कारण हुन सक्छन्।

एक, नेपालले आफ्नो माग पूरा गर्नु, दुई भन्सार अवरोध हुनु र तीन निर्यातकर्ता देशले यस्तो वस्तुको आयातलाई निरूत्साहित गर्नु तथा निर्यातमा रोक लगाउनु।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले मासुको आयातमा कुनै पनि भन्सार अवरोध नभएको बताए। ‘मासुको आयातमा केही समस्या छैन छिमेकीले निर्यातमा रोक पनि लगाएको होइन,’ खड्काले भने।

नेपाल पशु चौपाया संघका अध्यक्ष जीवनराम खतिवडाले मासुको मागमा आएको कमीको प्रभाव देखिएको बताए। उनले नेपाल मासु तथा पशुपंक्षीमा पनि आत्मनिर्भर नजिक भए पनि अहिले भइनसकेको बताए।

‘आत्मनिर्भर हुनु पर्ने हो, साउनमा आयात पनि भएको देखिएन,’ उनले सेतोपाटीसँग भने, ‘तयारी मासुको आयातमा मात्रै होइन हाम्रो चौपायाको बिक्री पनि घटेको छ।’

खतिवडाका अनुसार अहिले पशु तथा चौपायाको बिक्री २५ देखि ३० प्रतिशतले घटेको छ। उनले अहिले उत्पादन वृद्धिको कारणले नभइ मागमा आएको कमीको कारणले समग्र खपत घटेको बताए। खपत घटेपछि आयात नभएको उनको तर्क छ।

यद्यपि आगामी महिनाबाट आयात बढ्न सक्ने उनको बुझाइ छ।

पछिल्ला वर्षहरूमा हरेक वर्ष मासुका लागि आयात गरिने पशुपंक्षी र तयारी मासुको आयात पनि क्रमशः घट्दो क्रममा छ।

आर्थिक वर्ष २०७४/७५ मा वार्षिक तीन लाख ६६ हजार ८७० केजी मासु आयात भएको थियो। क्रमशः घट्दै गत वर्ष ४९ हजार २२३ केजी तयारी मासुको आयात भएको थियो।

प्रतिक्रिया