
वीरेन्द्र जैसी, नेपालगन्ज : भारतबाट अवैद्यरुपले दुध आयात हुन थालेपछि बाँकेका किसानको दुध बिक्री हुन छोडेको छ । दुधको गुणस्तरीयता जाँच नगरीकनै र भन्सार नगरीकनै दुध आयात भइरहेकोले बाँकेका किसानहरुको दुध बिक्री हुन नसकेको जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले जनाएको छ । भारतीय दुधकै कारण बाँकेमा मिल्क होलिडे (दुध बिक्री नहुने अवस्था) आएको संघका अध्यक्ष दीपकराज भण्डारीले बताए । उनले नेपालगन्जमा पत्रकारहरुसामू भारतबाट आउने दुधको गुणस्तरसमेत नहुने गरेको र मिसावटयुक्त हुने गरेको बताए । ‘जसकारण एकातिर नेपाली उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असरको जोखिम रहेको छ । अर्काेतिर नेपाली किसानको दुध बिक्री हुन नसक्ने अवस्था छ भने सरकारको राजस्व पनि गुमिरहेको छ,’ उनले भने ।
संघले किसान, सहकारी र उपभोक्ता अधिकारकर्मीसमेतको सहभागितामा गरेको अनुगमनका क्रममा भारतबाट दैनिक करिब ६ हजार लिटरदेखि आठ हजार लिटर दुध अवैधरुपमा बाँके भित्रिरहेको पाइएको भण्डारीले जानकारी दिए । तर, पशु क्वारेन्टाइन र भन्सारले हाल भारतबाट दुध आयात भएको कुनै आधिकारिक रेकर्ड नभएको बताएका छन् । बाँकेको जमुनाह नाका लगायत अन्य नाकाहरुबाट साइकल तथा मोटरसाइकलमा धमाधम दुध नेपाल भित्रने गरेपनि कुनैपनि निकायले चेकजाँच नगर्ने गरेको उनको भनाइ छ । त्यसरी आयात भएको दुध उपभोक्ताको घर घरमा र चियापलका साथै केही डेरी उद्योगहरुलेसमेत खपत गर्ने गरेको पाइएको छ । दुधमात्रै नभएर पनिरलगायतका अन्य दुग्धजन्य पदार्थ पनि खुला सीमाको फाइदा उठाउँदै अवैद्यरुपमा आयात भइरहेको तर प्रशासन भने मुकदर्शक भइरहेको संघले बताएको छ ।
संघले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापनपत्र बुझाएर दुधको अवैद्य आयात रोक्न र गुणस्तर चेकजाँच तथा भन्सार असुल गरेर मात्रै भित्रिन दिन माग पनि गरेको छ । संघका अनुसार हाल बाँकेमा २२ हजार लिटर दुध खपत हुने अवस्था छ भने सात हजार लिटर अन्य जिल्लामा पठाइने गरिएको छ । तर, जिल्लामा मात्रै २४ हजार लिटर दुध उत्पादन भइरहेको छ भने बर्दियाबाट सात हजार लिटर दुध भित्रन्छ । त्यसैमाथि, भारतबाट आउने अवैद्य र गुणस्तरहीन दुधले बजार असन्तुलित बनाइदिँदा नेपाली किसानको दुध बिक्री हुन नसकेको संघको भनाइ छ । गुणस्तरहीन र भन्सार नगरिएको भारतीय दुधको मुल्यसँग प्रतिस्पर्धा गर्न नसकिने हुँदा पनि नेपाली किसानको दुध बिक्री हुन नसकेको उनी बताउँछन् ।
दुग्ध उत्पादक किसान एवं दुग्ध बिक्रेता चेतनारायण शर्माले सरकारले एकातिर दुग्ध उत्पादक किसानलाई प्रोत्साहनको नारा दिने गरेको र अर्काेतिर अवैद्य आयातलाई खुला छोडेर किसानहरुलाई नै हतोत्साहित गर्ने गरेको दुःखेसो पोखे । उनले बाँके दुग्ध पदार्धमा आत्मनिर्भर भइसकेकोले भारतबाट आयात बन्द गरिनुपर्ने माग गरे । भेरी दुग्ध उत्पादक सहकारी संघ बाँकेका अध्यक्ष पूर्णप्रसाद अधिकारीले पशु क्वारेन्टाइनसँग भारतीय दुधको गुणस्तर जाँच गर्ने प्रविधि नै नरहेको भन्दै आयात गर्न दिने हो भने प्रविधिको उचित व्यवस्था गरेर गुणस्तरीय दुध भन्सार गरेर मात्रै आयात गर्न दिन माग गरे । उनले अहिले सरकारले तोकेको दुधको मूल्य पनि लागतका हिसाबले कम रहेको बताएका छन् । ‘त्यसैमाथि भारतीय दुध अवैद्यरुपले आयात गर्न दिँदा नेपाली किसानहरु हतोत्साहित भएका छन् । सरकारले मुल्य बढाएर मात्रै हुँदैन, लागत घटाउने र किसानमैत्री नीति लिन सक्नुपर्छ,’ अधिकारीले भने । उपभोक्ता अधिकारकर्मी प्रभात ठकुरी भारतबाट गुणस्तर जाँच नगरीकनै दुध आयात गर्न दिनु उपभोक्ताको स्वास्थ्यमाथि नै खेलवाड भएको बताउँछन् ।
हाललाई प्रमुख जिल्ला अधिकारीबाट भारतीय दुध आयातमा कडाई गरिने आश्वासन पाएकोले केही दिन पर्खने र सुधार नभएमा आगामी चरणका आन्दोलनका कार्यक्रममा जान आफूहरु बाध्य हुने जिल्ला दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष भण्डारीले बताएका छन् ।