
काठमाडौँ : कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गैरकृषि क्षेत्रको योगदान बढ्दै गएपछि मुलुकमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । यद्यपि खाद्यान्न उत्पादन नघटेको हुँदा यो सकारात्मक नै रहेको सरोकारवाला बताउँछन् । जीडीपीमा कृषि क्षेत्रको योगदान र उत्पादनसमेत घट्दै गएको हुन्थ्यो भने नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ ।
आर्थिक वर्ष ०७०/७१ देखि जीडीपीमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको आर्थिक सर्वेक्षण ०७९/८० मा उल्लेख छ । विगत १० वर्षमा कृषि क्षेत्रको औसत योगदान २६.५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । कृषि क्षेत्रमा आबद्ध जनसंख्या घट्दै जानु, कृषिभन्दा अन्य पेसातर्फ श्रमशक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रहेका कारण विशेषगरी हिमाली, पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । फलस्वरूप कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा जीडीपीमा कृषि क्षेत्रको योगदानसमेत घट्दै गएको हो । आर्थिक वर्ष ०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ र गैरकृषि क्षेत्रको योगदान ७५.९ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । अघिल्लो आर्थिक वर्ष यस्तो योगदान २४.७ र ७५.३ प्रतिशत थियो ।
पछिल्लो समय मानिसहरू कृषि क्षेत्रबाट अन्य क्षेत्रमा सर्दा पनि प्रभाव परेको कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् । ‘अरु देशमा पनि अन्य क्षेत्रको योगदान बढेपछि कृषि क्षेत्रको घट्दो नै हुन्छ,’ उनले भनिन्, ‘हाम्रोमा पनि कृषिको घट्दो क्रममा छ भने अन्य क्षेत्रको बढ्दो छ ।’ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा बढाउन काम गरिरहेको उनले बताइन् । ‘अहिले कृषि योग्य जग्गा पनि घट्दै गएको छ, हामीले जग्गा बढाउन सक्दैनौं । तर उत्पादकत्व बढाउन सक्छौं, त्यसतर्फ ध्यान दिन जरुरी छ,’ उनले भनिन् ।
राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोड दिइने चालु आर्थिक वर्षको बजेटमा पनि उल्लेख छ । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणका लागि समुचित प्रबन्ध मिलाइने जनाएको छ । पछिल्लो समय कृषि क्षेत्रमा आबद्ध जनसंख्यासमेत घट्दै गएको छ । श्रमशक्ति सर्वेक्षण २०१८ अनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ६०.४ प्रतिशत थियो । श्रमशक्ति सर्वेक्षण २०२१ अनुसार ५०.४ जनसंख्या कृषि क्षेत्रमा योगदान छ ।
कृषिका लागि सीमित भूमि मात्र रहेकाले अब किसान, सरकारलगायत सबै सरोकारवाला निकायले उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने पूर्वअर्थसचिव रामेश्वर खनालले जनाए । ‘जीडीपीमा कृषि क्षेत्रको योगदान घट्दै छ । तर प्रत्येक वर्ष कृषि वस्तुको उत्पादन बढ्दै गएको छ,’ पूर्वअर्थसचिव खनालले भने, ‘सेवा क्षेत्रको वृद्धिदर उच्च भएकाले कृषि क्षेत्रको योगदान घट्दै गएको हो ।’ जीडीपीमा कृषि क्षेत्रको योगदान सधैं बढाउन नसकिने समेत उनी बताउँछन् । ‘कृषि जग्गाको क्षेत्रफल सीमित छ, उत्पादकत्वको सीमा छ,’ उनले भने, ‘धानको उत्पादकत्व एक ठाउँमा पुगेपछि बढ्न सक्दैन । चीनमा प्रतिहेक्टर औसत ६ टन धान उत्पादन हुन्छ । नेपालमा भने प्रतिहेक्टर ३.१ टन मात्रै छ, त्यसैले उत्पादकत्व बढाउन ध्यान दिनुपर्छ ।’ साभार ई कान्तिपुर