नेपालगन्ज : बाँकेमा ठुलो संख्यामा बोइलर कुखुराको चल्ला बरामत गरिएको छ । भारतबाट अबैध रुपमा भित्राइएको उक्त चल्ला बरामत गरिएको हो । बुधबार विहान नेपाल भारतको सिमा हुदैं नेपाल भित्राउदै गर्दा ७ हजार गोटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामत गरेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर १ चन्द्रनगरबाट बेवारिसे अवस्थामा ८ वटा साइकलमा लोड गरिएको कुखुराको चल्ला सहित सशस्त्र प्रहरी बलको बढैया विओपीबाट खटिएको टोलिले नियन्त्रणमा लिएको थियो । प्रति साइकल २ हजारका दरले कुखुराको चल्ला ल्याएको सुचना पाएपछि विओपिका इन्चार्ज प्रहरी निरिक्षक हरि बहादुर शाहिको कमाण्डमा गएको उक्त टोलिले बरामत गरेको हो । भित्राइएको चल्ला करिब ५ लाख ६८ हजार रुपैया सम्मको रहेको पाइएको छ ।
विहानको समयमा सुला सिमाको फाइदा लिदै कुखुरा तस्करहरुले हरेक दिन जसो कुखुरा र चल्लाहरु भित्राइरहेको बाँकेका कुखुरा व्यवसायि मञ्चका अध्यक्ष धर्मराज पोखरेलले जानकारी दिए । विहानको समयमा चल्ला लुकाई छिपाई भित्राउदै गर्दा प्रहरीले समात्न सफल बनेको बढैया विओपिका इन्चार्ज शाहिले बताए । प्रहरी आएको पत्ता पाउन साथ तस्करहरु कुखुरा छाडेर भागेकाले तस्करलाई समाउन नसकिएको प्रहरीले जनाएको छ ।
बरामत गरिएको कुखुराको चल्लालाई जनप्रतिनिधिहरुको रोबरमा नष्ट गरिएको बढैया विओपिले जनाएको छ । पछिल्ला दिनमा खुला सिमा नाकाबाट सरकारले अबैध भनेर घोषणा गरेको कुखुरा, चल्ला तथा कुखुराले खाने दानाहरु भित्रिने गरेको पाइएका छन । भारतबाट यसरी भित्रिदा नेपालमा कुखुरा पालन गर्ने बास्तविक किसानहरु भने मारमा परेको कुखुरा व्यवसायि मञ्चका अध्यक्ष पोखरेलले जनाए ।