
तिलक गाहा मगर, नेपालगन्ज : नेपालगन्जमा पशु बधशाला नहुँदा व्यवसायीलाई हैरानी भएको छ । नेपालगन्ज उपमहानरपालिकाको पशु सेवा शाखाको आयोजनामा मासु जाँच ऐन सम्बन्धी मासु व्यवसायीहरु विच भएको समन्वय बैठकमा बोल्दै व्यवसायीहरुले बधशाला नहुँदा व्यवसाय संचालन गर्न कठिन भएको बताएका हुन ।
बधशाला नहुदाँ सडक छेउ र घरको आगन प्रयोग गर्नुपर्ने बाध्यता रहेको मासु व्यवसायिले दुखेसो पोखे । नेपालगन्ज क्षेत्रमा रहेका मासु व्यवसायिले बैठकमा बधशालाको उचित प्रवन्ध गरिदिन समेत स्थानिय सरकारलाई आग्रह गरेका छन । सहभागी व्यवसायी मध्य एकले नेपालगन्जमा पशु बधशालाको आवश्यकता अति जरुरी देखिएको बताउँदै हाल जथाभावि रुपमा बध गर्न परेको दुखेसो पोखिन् । अर्र्का व्यवसायीले पशु बधशाला भएको खण्डमा आफ्नो पसल पनि सफा र व्यवस्थित हुने तर्क राखेका थिए । बैठकमा बोल्दै सहभागिले मासु पसलहरुले मुल्यमा एकरुपता कायम राख्नपर्नेमा समेत जोड दिएका छन ।
आयोजित बैठकमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर रुपेन्द्र कुमार वलीले मासु जाँच ऐन अनुसार व्यवसाय सञ्चालन गर्न पर्नेमा जोड दिए । डा. वलिले फ्रेश हाउसको संरचनामा टायल, सिसा तथा जाली प्रयोग गरी सफा राख्नु पर्ने, मासुमा कुनै प्रकारको मिसावट गर्न नहुने, मासु बिक्रेताले अनिवार्य रुपमा ६÷६ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्ने र विक्रेता स्वस्थ भएमा मात्र मासु विक्री गर्न पाउने अन्यथा नपाउने नियम रहेको समेत व्यवसायीहरुलाई जानकारी गराए । उनले मासु व्यवसायीले मासु काट्ने औजार पनि सफा राख्नुपर्ने बताएका छन । सहभागीहरुले कस्तो खालको मासु गुणस्तरीय हुन्छ, भन्ने जिज्ञासामा डाक्टर वलीले पशुको बध गरे पश्चात सबै रगत बगेको, छाला फालेको तथा लामो समय सम्म राख्नु परेमा तापक्रम मिलाएर राखेको मासु गुणस्तरीय हुने बताए ।
तनाव दिएर बध गरिएको पशु भन्दा तनाव रहित बध गरिएको पशुको मासु गुणस्तरीय हुने डा. वलिले जनाए । उनले कुनै पनि पशु कालगतिले मृत्यु भएमा वा एक्कासी मृत्यु भएको खण्डमा त्यस्तो मासु नखान सुझाएका छन । बैठकमा पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाहिले भारत बाट अवैध रुपमा भित्राएका कुखुराहरु खरिद विक्री नगर्न आग्रह गरेकी छन् ।उनले पछिल्ला दिनमा नेपालगन्जमा अबैध कुखुरा भित्रिएको सुचना आइरहेकाले यसतर्फ सम्बन्धितको ध्यानाकर्षण गराइन । शाखा प्रमुख शाहिले गुणस्तरीय मासु सेवन गर्न र गराउन सबैपक्षले आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध गरिन् । पशु क्वारेन्टाइन नेपालगन्जका सुचना अधिकारी इन्दु रेग्मीले पछिल्ला दिनमा भारत बाट अवैध रुपमा कुखुरा भित्रिरहेकाले मासु सेवन गर्दा विशेष ध्यान दिन आग्रह गरिन । नेपालमा भित्रिने गरेका कुखुरालाई नियन्त्रण गर्न सुरक्षा निकायले चासो बढाउनु पर्ने उनको तर्क थियो ।
