नेपालगन्ज, २१ असार : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ पिप्रहवाकी एक किशोरीलाई आफन्तहरुले विहेको नाममा बेचेर सम्पर्कविहीन बनाएको उनका आमाबुवाले खुलासा गरेका छन् । उनीहरुले नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै छोरीको खोजी गरी सम्पर्कमा ल्याइदिन माग गरेका छन् । प्रिप्रहवाकी १९ वर्षीया रेश्मा कुर्मीलाई वैशाख २ गते आफन्तहरुले आमाबुवालाई जानकारी नै नगराई भगाएर सीमावर्ती भारतमा बस्ने आफन्तकहाँ विहे गराउने नाममा बेचेर सम्पर्कविहीन बनाएको उनीहरुका मातापिता सिपुरी र नारायण वर्माले बताए । वैशाख २ गतेयता छोरीसँग कुनै सम्पर्क हुन नसकेको उनीहरुको भनाइ छ । आफन्तहरु भारत बाबागन्ज निवासी दिनेश कुर्मी, बुहारी केनिया कुर्मी, नातिनी नाता पर्ने जलवर्षा र पवनलगायत पाँच जनाले पैसाको लेनदेन गरेर विहे गराउनका लागि भूमिका खेलेको र त्यसपछि छोरीलाई सम्पर्कविहीन बनाएको आमाबुवाको आरोप छ ।
आमा सिपुरीले छोरीलाई बेपत्ता बनाउने काममा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री विजय यादवकोसमेत संलग्नता रहेको आरोप लगाइन् । मन्त्रीले उक्त विपषयमा सृजना भएको विवाद मिलाइदिनका लागि संलग्नहरुसँग ६० हजार भारतीय रुपैयाँ बुझेको र आफूहरुलाई पनि प्रहरीमा गएर मुद्धामामिला नगर्न धम्क्याएकोे आमाबुवाको आरोप छ । त्यहीकारण आफूहरु प्रहरीमा उजुरी गर्न जान नसकेको उनीहरुले जिकिर गरे । छोरीलाई आफूहरुको सम्पर्कमा चाडोभन्दा चाडो ल्याउनका लागि सहयोग गर्न पनि आमा सिपुरीले सम्बद्धसँग आग्रह गरिन् ।
रेश्माको तीन वर्षअघि नेपालगन्जकै एक युवासँग विवाह भएको उनीहरुको भनाइ छ । जबकी त्यस उमेरमा रेश्मा मात्र १६ वर्षकी थिइन् । कानुनले बालविवाह गर्न बन्देज गरेकोे भएपनि उनको पहिलो विवाह उमेर नपुग्दै भएको पाइएको छ । त्यसपछि श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि उनी माइतमा आएर बसेको नौ महिना नहुँदै फेरि उनलाई पैसाको लेनदेन गरेर विहे गराइदिएको पाइएको छ । उक्त काममा पूर्वमन्त्री यादवसमेतको संलग्नता रहेको भन्दै रेश्माका आमाबुवाले लगाएको आरोपबारे धारणा लिन सम्पर्क गर्दा यादवसँग टेलिफोन सम्पर्क स्थापित हुन सकेन ।