मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन

नेपालगन्ज : मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयहरुमा सन्चालित योजनाहरुको अनुगमन गरिएको छ । कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाका विभिन्न विद्यालयहरुमा शैक्षिक साग्री प्रदान गरिनुका साथै विभिन्न भौतिक निर्माणका कामहरु भएका छन् ।

ती योजनाहरुको गुणस्तरीयता र प्रभावकारिताका विषयमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र शाहीको नेतृत्वमा अनुगमन गरिएको हो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका बाँके जिल्ला समन्वयकर्ता भीम रावतले कार्यक्रमअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका १७ वटा विद्यालयमा विभिन्न सुधारका योजनाहरु सन्चालन गरिएको जानकारी दिए ।

ती योजनाहरु प्रभावकारी कार्यान्वयन भए नभएको विषयमा अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा अधिकांश विद्यालयमा प्रभावकारी र गुणस्तरीयरुपले योजनाहरु कार्यान्वयन भएको पाइएको उनको भनाइ छ । कार्यक्रम अन्तर्गत नेपालगन्ज वडा नम्बर २० राँझास्थित आदर्श माविमा ८ वटा प्रोजेक्टरहरु प्रदान गरिएको छ । ती प्रोजेक्टरहरु कक्षा ६ भन्दा माथिका कक्षाहमरुमा जडान गरिएका विद्यालयले जनाएको छ ।

अब शिक्षकहरुलाई आइसिटी तालिम दिएर र थप अन्य साधनहरु व्यवस्थापन गरेर डिजिटल माध्यमबाट पढाउने उदेश्य राखिएको अधिकृत शाहीले जानकारी दिए । कार्यक्रमअन्तर्गत विद्यालयहरुमा पर्खाल निर्माण, शौचालय, धारा, रंरोगन, मर्मत सम्भार लगायतका योजनाहरु सन्चालन गरिएका उनले बताए ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममार्फत उपमहानगरपालिकालाई ८० लाख, नगरपालिकालाई ७० लाख र गाउँपालिकालाई ६० लाख बजेट छुट्याइएको थियो । उक्त कार्यक्रम बाँकेका डुडुवाबाहेक सबै स्थानीय तहमा लागु भएको छ ।

प्रतिक्रिया