लुम्बिनी प्रदेश सरकारले आज थप ३ मन्त्री पाउने

लुम्बिनी प्रदेश सरकारले आज थप ३ मन्त्री पाउने भएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारका दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिँदै थप तीन मन्त्रीलाई सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन्।

नेपाली कांग्रेसबाट प्रदेश उपसभापति राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्ता सरकारमा सहभागी हुने भएका छन्।

खनाल स्वास्थ्यमन्त्री र अहिर कृषिमन्त्री र गुप्ता सामाजिक मन्त्री बन्न लागेका हुन्।

मुख्यमन्त्री चौधरीले आजै विनाविभागीय मन्त्री सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

मन्त्रालय भागबन्डामा असहमति जनाउँदै आएको माओवादी केन्द्र भने सरकारमा तत्काल नजाने भएको छ।

माअ‍ोवादी संसदीय दलका नेता जोखबहादुर महराले तत्काल कसैलाई पनि सरकारमा नपठाउने बताए।

‘हाम्रो पार्टीले बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्रीमण्डलमा पठाउनेगरी नाम सिफारिस गरिसकेका छौं,’ उनले भने, ‘हामीले लिला गिरी मुख्यमन्त्री हुँदा तीन मन्त्री पाएका थियौं अहिले पनि सोही अनुसार हुनुपर्छ भन्ने अडान हो।’

यसअघि कांग्रेसले ४ र माओवादीले तीन मन्त्रालय लिने दुई दलका बीच सहमति भएको सार्वजनिक भएको थियो।

मन्त्रिपरिषद् विस्तार भएपछि १० सदस्यीय लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको संख्या सात पुगेको छ। रिक्त तीन मन्त्रालय तत्काल मुख्यमन्त्री आफैले राख्ने भएका छन्।

आगामी आर्थिक वर्षको बजेटपछि मात्रै सरकारलाई पूर्णता दिने मनस्थितीमा रहेका छन्।

बजेटअघि मन्त्रालय टुक्राउँदा विवाद हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजेटपछि कांग्रेसबाट एक र माओवादीबाट थप एक जना मात्रै मन्त्री बनाउने मनस्थितीमा रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले जानकारी दिएको छ।

८ दल र एक स्वतन्त्र सांसदसहित ५३ जनाको समर्थनमा चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख १९ गते विश्वासको मत लिएका थिए।

प्रतिक्रिया